विद्यार्थीको उत्तरपुस्तिका साट्ने दुई शिक्षक पक्राउ

वीरगञ्ज । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका साटेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ठाकुरराम बहुमुखी क्याम्पस परीक्षा शाखाका पूर्वप्रमुख मोहन यादव र त्रिजुद्ध माध्यमिक विद्यालय परीक्षा केन्द्रका सहायक प्रमुख विनोद स्वर्णकार रहेका छन्।
ठाकुरराम क्याम्पसमा अध्यनरत बिमाकुमारी यादवलाई उत्तीर्ण गराउने उद्देश्यले उत्तरपुस्तिका साट्न खोजेको प्रहरीले जनाएको छ। बुधबार परीक्षाको अन्तिम समयमा पूर्वप्रमुख यादवले छात्रा बिमाकुमारीले लेखेको उत्तरपुस्तिका त्रिजुद्ध माविको परीक्षा केन्द्रमा केन्द्र प्रमुख स्वर्णकारलाई दिँदै गरको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोस्रो वर्षको परीक्षाकेन्द्र वीरगन्जस्थित त्रिजुद्ध माविमा तोकिएको छ। बुधबार अंग्रेजी विषयको परीक्षा थियो।
यसअघिका विषयमा समेत उत्तरपुस्तिका साट्ने चलखेल भएको त्रिजुद्ध माविका कर्मचारीले बताए। उनीहरुका अनुसार यादव र स्वर्णकारले सोबापत प्रतिविधार्थी ३० देखि ३५ हजार असुल्ने गरेको स्रोतले बतायो।
उत्तरपुस्तिका साटेर विद्यार्थीलाई उत्तीर्ण गराउने काम हुँदै छ भन्ने सूचनाका आधारमा प्रहरी टोलीलाई केन्द्रमा खटाइएको थियो।
प्रकाउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक कोमल साहले बताए ।
प्रतिक्रिया