बिहीबार, जेठ ३, २०८१

मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’

नेपालखोज २०८० भदौ २ गते ५:२६

ओखलढुङ्गा । ओखलढुङ्गाको मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो ।

यहाँ चारैतिर वनजङ्गल, चराचुरुङ्गीको चिरविर आवाज र नागबेली सडक छ । सडककै बीचमा निर्माण भएको तामाङ समुदायको सांस्कृतिक बाजा पहिचानको प्रतीक डम्फु उद्यानले सबैको मन तानिरहेको हुन्छ । मूलखर्क, च्यानम, कटुञ्जे, सिस्नेरी र बलखु आसपासको समुदायका व्यक्ति हुन् वा काम विशेषले सुनकोसी गाउँपालिका भएर यात्रा गर्ने यात्रु, उनीहरु सबैको डम्फुतर्फ आँखा अडिने गर्छ ।

पछिल्लो समय डम्फु उद्यान पुग्नेहरु तस्बिर खिचेर रमाउने गर्नुका साथै टिकटक बनाउन व्यस्त हुने गरेका छन् । डम्फुलाई तामाङ समुदायको सांस्कृतिक पहिचानका रूपमा स्थापित गर्न ‘डम्फु उद्यान’ निर्माण गरिएको सुनकोसी–५ का वडाध्यक्ष गोविन्दराम तामाङले बताए ।

सुनकोसी–५ को रु आठ लाख ५० हजारमा उद्यान निर्माण गरिएको हो । डम्फु उद्यान नजिकै गुम्बा निर्माण गरिएको छ । स्थानीय मनकुमार तामाङले पहरामा बुद्धको मूर्ति बनाएपछि मूलखर्क धार्मीक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

‘अब सङ्ग्रहालय निर्माणको योजना छ । सङ्ग्रहालय निर्माणपछि तामाङ संस्कृतिबारे अध्ययन गर्न आउनेको सङ्ख्या बढ्ने विश्वास छ’, वडाध्यक्ष तामाङले भने ।

तामाङको कला, वेशभूषा, संस्कृति र पहिचानको संरक्षणका लागि वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । डम्फु तामाङ जातिको छेवार, पास्नी, विवाह, व्रतबन्धलगायत जन्मदेखि मरणोपरान्तसम्मका कार्यमा प्रयोग गरिन्छ ।

उद्यानले बाजा संरक्षणमा टेवा पुग्ने नेपाल तामाङ घेदुङ सङ्घका जिल्ला अध्यक्ष सुवास तामाङको भनाइ छ ।

प्रतिक्रिया