शुक्रबार, असार ६, २०८२

चोरी सिकारी रोक्न सेनाको गस्ती

नेपालखोज २०८० भदौ २ गते ८:२४

जानकी । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले वि.सं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो । उक्त गणलाई नेपाली सेनाको पहिलो गणका रुपमा यहाँ स्थापना गरी सुरक्षा व्यवस्थाका लागि खटाइएको थियो ।

वि.सं २०७४ साउन ७ गतेदेखि श्रीमेहर गण तैनाथ रहेकामा वि.सं २०७७ देखि हालसम्म श्री अर्जुनवाण गणले निकुञ्जको सुरक्षा गरिरहेको छ । सेनाले निकुञ्जभित्र भौतिक पूर्वाधार निर्माण गर्ने, २४सै घन्टा पैदल तथा साइकल गस्ती, गाडीबाट पेट्रोलिङलगायत सुरक्षाका क्षेत्रमा काम गरिरहेको अर्जुनवाण गणका प्रमुख सेनानी अशोक खड्काले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षको २०७९/८० मा सेनाले एक लाख ७७ हजार सात सय पाँच किलोमिटरको दूरीमा १५ हजार चार सय ९३ पैदल गस्ती गरेको छ । उक्त गस्तीमा छ सय ४५ सवारीसाधन प्रयोग भएका गणपति खड्काले जानकारी दिए । उनका अनुसार गस्तीमा प्रयोग भएका सवारीसाधनले करिब २४ हजार एक सय ३५ किलोमिटरको दूरीमा गस्ती गरेका थिए ।

गणपति खड्काका अनुसार निकुञ्ज क्षेत्रमा दुई हजार चार सय ४८ साइकल, चार वटा डुङ्गा, ११ हात्तीको प्रयोग गरेर गस्ती गरिएको थियो । डुङ्गाले तीन सय ५१ किमी तथा हात्तीको प्रयोगबाट एक सय २२ किमीको दूरीमा गस्ती गरिएको उनले जानकारी दिए । गणपति खड्काका अनुसार गत आवमा वन्यजन्तु र मानवबीचको द्वन्द्वमा मानवीय क्षति भएको तथ्याङ्क शून्य रहेको छ ।

‘गत आवमा वन्यजन्तुद्वारा मानवीय क्षति भएको तथ्याङ्क शून्य छ’, उनले भने, ‘यसलाई हाम्रो सफलताका रुपमा लिएका छौँ ।’ महेन्द्र राजमार्गअन्तर्गत निकुञ्जलाई छोएर दैनिक एक हजार छ सयदेखि १७ सय गाडीको ओहोरदोहोर हुने जनाउँदै उनले यात्रुको भेषमा वन्यजन्तु चोरी सिकारका लागि केही पनि आउनसक्ने भएकाले छ ठाउँमा सिसिटिभी जडान गरिएको जानकारी दिए ।

गणपति खड्काका अनुसार राजमार्गमा गुड्ने सवारीसाधनलाई प्रवेश गराउने क्रममा वन्यजन्तु नतर्सियोस् भन्नका लागि ‘भेइकल ट्रयाकिङ एण्ड रिकगनेसन सिस्टम’ (भिटिआरएस) को व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु संरक्षणका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुका साथै सुरक्षित खाना र बासस्थानकोसमेत व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले बताए । उनका अनुसार वन्यजन्तुका लागि पानी पोखरी, बाघको बासस्थान, वन्यजन्तुका लागि घाँसे मैदान, जैविक मार्गलगायत अन्य भौतिक संरचना निर्माण गरिएका छन् ।

निकुञ्ज स्थापना भएसँगै बाँके राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त थलो मानिएको संरक्षण अधिकृत साहले बताउनुभयो । बाघका लागि खाना तथा पानीको उचित व्यवस्थापन भएपछि बाघको सङ्ख्या पनि बढेको उनको भनाइ थियो । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१० मा चार बाघ रहेकामा सन् २०१८ मा २१ र सन् २०२२ को गणनाअनुसार २५ बाघ रहेका छन् । निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आहारविहार, सुरक्षित बस्ने ठाउँ, पानीका लागि पोखरीको व्यवस्था गरेसँगै बाघको सङ्ख्यामा वृद्धि भएको बताए ।

उनका अनुसार निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी वन्यजन्तु तथा प्राकृतिक दृश्यावलोकन सहज र सुरक्षितरुपमा गराउने उद्देश्यले हालसम्म १८ मचान निर्माण गरिएका छन् । निकुञ्जमा वर्षाको पानी सङ्कलन हुनेगरी प्राकृतिक पानी पोखरी र सोलारबाट सिञ्चित हुने गरी दुई किसिमका पानी पोखरी निर्माण गरिएको सूचना अधिकारी भुसालले जानकारी दिए । उनका अनुसार निकुञ्जभित्र ६० प्राकृतिक पोखरी र नौ वटा बोरिङसहितका पोखरी छन् ।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग, राष्ट्रिय र सामुदायिक वन हुँदै भारतको कतर्नियाघाट वाइल्ड लाइफ सेञ्चुरीसँग जोडिएको सूचना अधिकारी भुसालले जानकारी दिए । उनका अनुसार उत्तरतर्फ चुरे पर्वत र दक्षिणमा पूर्व–पश्चिम राजमार्गका साथै कम्दी जैविक मार्ग हुँदै भारतको सलेहवा वाइल्ड लाइफ सेञ्चुरी क्षेत्रसँग सिमाना जोडिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले ‘हात्ती सफारी’ सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष शुभारम्भका अवसरमा तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आन्तरिक पर्यटक बढाउँदै विदेशी पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीले सहयोग पुग्ने बताएका थिए ।

मध्यवर्ती क्षेत्रअन्तर्गतका विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बालापुर, खड्गवार र गाभरमा होमस्टे (घरबास पर्यटन) समेत सञ्चालनमा ल्याइएको सूचना अधिकारी भुसालको भनाइ थियो । ओभरी, खड्गवार, बुच्चापुर, गाभर र अगैयाबाट पर्यटकलाई निकुञ्जभित्र प्रवेश गर्ने सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए । यहाँ बाघ, हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन् ।

जैविक विविधताको दृष्टिले आठ वटा पारिस्थितिकीय प्रणाली, एक सय २४ वनस्पति, ३४ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी पन्छी, ५८ प्रजातिका माछा, २४ प्रजातिका घस्रिने (सरीसृप) तथा छ प्रजातिका उभयचर प्राणी पाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए । उहाँका अनुसार सालक, हुँडार, चौका, जङ्गली हात्ती, पाटेबाघ, कालो गरुड, राजधनेश, अजिङ्गर, सुनगोहोरोलगायत संरक्षित वन्यजन्तु रहेका छन् ।

प्रतिक्रिया