शनिबार, वैशाख २२, २०८१

हनि ट्रयापः म्यासेन्जरमा बोल्ने किशोरीलाई रिसोर्टमा भेट्न जाँदा ४० लाख स्वाहा

नेपालखोज २०८० भदौ ३ गते १३:२९

काठमाडौं । फेसबुकको म्यासेन्जसरमा करिब तीन महिनासम्म कुराकानी गरेपछि एक जना पुरुषलाई आयुष्माले रिसोर्टमा भेट्न बोलाइन् ।

काठमाडौंमा बसोबास गर्ने ती पुरुषलाई सिन्धुली घर भएकी आयुष्मा भन्ने आसिका रजाली मगरले साँगास्थित रिसोर्टमा भेट्न प्रस्ताव गरिन् ।

पुरुष साँगास्थित रिसोर्टमा पुगेर आयुष्मासंग केही मिनेट कुरा गरेपछि आयुष्माले ‘टाउको दुख्यो’ भन्दै बाहिर निस्किइन् ।

त्यसपछि एक जना महिला र पुरुष रिसोर्टको कोठामा आएर ती पुरुषलाई हप्काउन थाले । आफ्नो नाता पर्ने किशोरीलाई ‘बलात्कार प्रयास’ गरेको आरोप लगाएर पैसा नदिए ‘झुटो मुद्दा’ मा फसाउने धम्की दिए । धम्क्याएर ४० लाख रुपैयाँ बराबरको ८ थान चेक लिएर उनीहरू त्यहाँबाट फरार भए ।

पुरुषलाई योजनाबद्ध रुपमा हनि ट्रयापमा पारेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको कमलामाई नगरपालिका–१३ घर भएकी आयुष्मासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपितहरुलाई साउन ३० गते पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा आयुष्मा र दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका राजु खत्री छन् ।

अनुसन्धानबाट आयुष्माको नाममा फेसबुकमा कुरा गर्ने व्यक्ति ‘डिके शर्मा भएको पत्ता लागेको छ । खोटाङ घर भएका शर्माले योजनाबद्ध रुपमा ती पुरुषलाई हनिट्रयापमा पारेको अनुसन्धानबाट थाहा भएको छ ।

२५ वर्षीय शर्मा २०७९ असारमा पनि हनिट्रयाप मुद्दामा पक्राउ परेर छुटेका हुन् । पुरानो मुद्दामा छुट्नासाथ शर्माले फेरि हनिट्रयाप धन्दा थालेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

डिकेले आयुष्मालाई ‘जागिरको लोभ’ देखाएर ती पुरुषसँग साँगा पठाएको अनुसन्धानबाट थाहा भएको छ । डिकेसँगै साँगामा ती पुरुषसँग ब्ल्याकमेल गर्नेमा निकिता केसी पनि थिइन् । सुर्यबिनायक नगरपालिका–९ घर भएकी निकिता फरक मुद्दामा केन्द्रीय कारागारमा छिन् । योजनाकार डिके फरार छन् ।

प्रतिक्रिया