शुक्रबार, जेठ ३१, २०८२

हारका बाबजुद नेपाल फाइनलमा

नेपालखोज २०८० भदौ ८ गते १५:२७

काठमाडौं । नेपाल चार देशसम्मिलित महिला टि२० आई सिरिजमा घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएपनि फाइनलमा पुगेको छ । नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्दा मलेसिया जितका बाबजुद बाहिरिनु परेको छ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

नेपालको नेटरनरेट ०.८५३ र हङकङको ०.१९२ रह्यो । मलेसियाको ३ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण फाइनलमा पुग्न सकेन । मलेसियाको नेटरनरेट ०.००७१ रह्यो । फाइनल शनिबार हुनेछ ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपालले सोमबार थाईल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ ।

नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

प्रतिक्रिया