क्यानको बागमती प्रदेश अध्यक्षमा पारसलाई समर्थन दिने प्रतिवद्धता

काठमाडौं । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्कालाई अर्को साता हुने बागमती प्रादेशिक क्रिकेट संघको निर्वाचनमा बहुमत सदस्यले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरे । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।
बागमतीको चुनाव आगामी भदौं १५ गते हुँदैछ । बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले शुक्रबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका थिए । बागमतीका बाँकी दुई जिल्ला नुवाकोट र चितवन भने पत्रकार सम्मेलनमा सहभागी थिएनन् ।
पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण महत्रा क्षेत्री, काठमाडौंका अध्यक्ष दिवाकर थापा, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ थिए । पारसले काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यता प्राप्त गर्दै बागमती प्रदेशको चुनाव लड्न लागेका हुन् ।
पारस अध्यक्षमा उठ्दा उपाध्यक्षमा मकवानपुर, सचिव ललितपुर र कोषाध्यक्षमा भक्तपुरका प्रतिनिधि उठ्ने घोषणा गरेका छन् । ९ सदस्यमा आपसी समझदारीमा हुने जानकारी दिएका छन् । पारसलाई अध्यक्ष पदमा उठ्न बागमती प्रादेशिक संघका वर्तमान कार्यसमितिका १३ मध्य ७ जनाले सहमती जनाएका छन् ।
बागमती प्रदेशका अध्यक्ष राजु बस्नेत, उपाध्यक्ष प्रेम क्षेत्री र कोषाध्यक्ष अनिल अधिकारीसहित ७ सदस्यले पारसलाई अध्यक्षको लागि साथ दिने भएका हुन् । बागमती प्रदेशमा ६ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरि कुल ३७ भोट हुनेछ । हरेक जिल्लाबाट चार प्रतिनिधिले प्रदेशमा मतदान गर्न पाउने छन् । प्रतिवद्धता अनुसार पारसले ३७ मध्य २३ मत प्राप्त गर्ने समिकरण बनेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ । ४५ जिल्ला र तीन प्रदेशको चुनाव पनि सम्पन्न भएको छ । अव बाँकी चार प्रादेशिक क्रिकेट संघको चुनाव हुन बाँकी छ ।
कोशी प्रादेशिक क्रिकेट संघमा सर्वजित पाण्डे, गण्डकी प्रादेशिक क्रिकेट संघमा सञ्जय कान्त सिंग्देल र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशीले जितेका थिए । क्यानको केन्द्रिय चुनावमा कुला ८६ भोट छ । अध्यक्ष जित्न ४४ भोट आवश्यक पर्दछ ।
प्रतिक्रिया