शुक्रबार, जेठ ३१, २०८२

चामे क्षेत्रको घट्टे खोलामाथि काठेपुल निर्माण

नेपालखोज २०८० भदौ १० गते १८:५६

मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे आसपासका घट्टे खोलामाथि काठेपुल निर्माण गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा घट्टे खोला बढेर क्षति पुगेको काठेपुल निर्माण गरिएको हो ।

यही भदौ ८ गते दिउँसो एक्कासि घट्टे खोलामा माथिल्लो क्षेत्रबाट बढेर आउँदा काठे पुल पूर्णरूपमा आवतजावत रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई आवतजावतका लागि बाढीले जीर्ण बनाएको काठेपुल मर्मत गरिएको बताए ।

उनका अनुसार घट्टे खोलाको सतह बढेर काठे पुललाई छोएर क्षति पुगेपछि आवतजावत रोकिएको थियो । वर्षा कम भए पनि कुनै स्थानमा पहिरा खसेर रोकिएपछि पानीको सतह बढ्दा ह्वात्तै खोला बढेको थियो । घट्टे खोलामा आएको बाढीका कारण चामे आसपासका दुवै काठेपुल जीर्ण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले खोलामा पानीको सतह कम हुनासाथ काठेपुल निर्माण गरिएको बताए ।

पुलमा क्षति भएपछि सवारीसाधन तथा सर्वसाधारणको आवतजावत ठप्प भएको थियो । विसं २०७८ असार १ मा पनि यी चामे बजार वरपरका दुई घट्टे खोला एक्कासि बढेपछि चामेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

प्रतिक्रिया