बुधबार, जेठ २, २०८१

नाडा अटोशोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान

नेपालखोज २०८० भदौ ११ गते १८:५३

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा १५ औँ अटोशो आयोजना गर्दैछ । नाडा अध्यक्ष डा. धु्रवबहादुर थापाले अटोशोमा साना तथा ठूला गरी एक सय २० स्टल तथा ब्लक रहने जानकारी दिए । उनका अनुसार शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्सियल मेहिकल, नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको जनाइएको छ ।

सटल बसको व्यवस्था

नाडाले छ दिनसम्म सञ्चालन हुने शोमा पहिलो पटक सटल बस सञ्चालन गर्ने जनाएको छ । नाडाका सचिव एवं अटोशो संयोजक अनुपकुमार बरालले शोलाई ध्यानमा राख्दै तीन वटा सटल बस सञ्चालनको तयारी भएको जानकारी दिए ।

काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क, भ्यू टावरलगायतका सार्वजनिक पार्किङस्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

यस्तै, नाडाले आजदेखि नै अटो शोको टिकट बुकिङ खुला गरेको छ । पचहत्तर हजार मानिसले अवलोकलन गर्ने अनुमान गरिएको शोमा विद्यार्थीका लागि एक सय ५० तथा अन्य व्यक्तिका लागि दुई सयको टिकट छुट्टाइएको छ । खल्तीबाट अटोशोको टिकट काट्नेका लागि २० प्रतिशत क्यासब्याकको सुविधा दिइएको नाडाले जनाएको छ ।

करिब २० अर्ब बराबरको कारोबार हुने शोमा ७५ हजार जनाले अवलोकलन गर्ने अनुमान गरिएको नाडाले जनाएको छ ।

प्रतिक्रिया