सोमबार, वैशाख ३१, २०८१

प्रिन्सेस डायना र उनको पोशाक

सुनिल उलक २०८० भदौ १४ गते ८:००

२६ वर्ष भइसकेछ, प्रिन्सेस डायनाको मृत्यु भएको पनि । उनका पति प्रिन्स चार्ल्स आज राजा चार्ल्स तृतीय भइसकेका छन् । विश्वमा उनको चर्चा प्रिन्सेस डायनाका कारणले भन्दा पनि चार्ल्ससंगको सम्बन्ध बिच्छेदले बढि हुने गरेको छ ।

आज भन्दा २६ वर्ष अगाडि एकाबिहानै विश्वभर एउटै अविश्वसनिय समाचारले पत्रपत्रिकाहरु भरिए, सबैमा एउटै लेखिएको थियो ‘Princess Diana dies in a crash in Paris.’ संसारका हरेक समाचार यहि समाचारले भरिए ।

केही समय पछि उनका प्रेमी डोडी फायदको पनि संगै मृत्यु भएको समाचार आयो । एक वर्ष अगाडि मात्र प्रिन्स चार्ल्ससंग सम्बन्ध बिच्छेद गरेका डायनाको मृत्यु रहस्यमय रह्यो ।

यो मृत्यु प्रिन्सेस डायना र डायना स्पेन्सर बिचको परिणति थियो । बर्किंघम, डायनामा प्रिन्सेसको रुपमा मात्र रहेको देख्न चाहन्थ्यो भने डायना स्वयम डायना स्पेन्सरको रुपमा स्वच्छन्द रहन चाहन्थ्यो । उनले दरवारको नीति नियम भन्दा बाहिर रहेर स्वतन्त्रता खोजेका थिए । यहि द्वन्दको बिच भएको यो मृत्यु अत्यधिक रहस्यमय रहन गयो ।

पापारत्सीको पिछाबाट मुक्त हुन हतारिदा तथा रक्सी सेवन गरेका ड्राइभरका कारणले दुर्घटना भएको भनिए पनि मृत्युको घटना शंकास्पद नै रहेको थियो । त्यस घटनामा उनका प्रेमि भनिएका डोडी फायद तथा ड्राइभर ट्रिभर जोन्सको पनि मृत्यु भएको थियो । दुर्घटनाको साढे तीन घण्टा पछि नेपाली समय बिहानको पौने आठ बजे डायनाको पनि मृत्यु भएको घोषणा गरिएको थियो ।

दुर्घटनाको २० वर्ष पछि एक फ्रान्सेली पुलिसले जागीरे जीवनबाट रिटायर्ड भए पछि भनेका थिए डायनाको मृत्यु दुर्घटनाका कारण भएको थिएन । कारबाट उनलाई निकाल्दा उनको शरिरबाट एक थोपा रगत पनि बगेको थिएन । साथै उनले बरबराएका थिए, ‘My God, what happened?’ । बेलायती पुलिसका अनुसार त्यस पछि डायनालाई हर्ट एटेक भयो र मृत्यु भयो । तर अर्को पक्षले भनियो, एम्बुलेन्सबाट अस्पताल लैजाने क्रममा उनलाई विषालु सुइ दिइयो । सम्पूर्ण घटना M16 को योजना थियो पनि भनियो ।

यस दुर्घटना भन्दा ४ वर्ष अगाडि २०४९ फागुन १९ मा ५ दिने भ्रमणमा नेपाल आएकी थिइन । नेपालमा रेडक्रसको पर्यवेक्षकको रुपमा आइपुगेका उनलाई भोलिपल्ट युवराज दिपेन्द्रले दरवारमा डिनरको ब्यबस्था गरेका थिए ।

डिनरको लागी डायनाले बिशेष पोशाक लगाएका थिए । क्रिम रङ्गको सिल्कको पोशाक उनले केवल राजकिय भोजको लागि भनेर नै लिएर आएका थिए । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला तथा युवराज दिपेन्द्रको साथ हलमा प्रबेश गर्दा उनी निकै आकर्षक देखिएकी थिइन ।

डायनाका पोशाकहरुको बिशेष डिजाइन गर्ने क्याथरिन वाकरले डिजाइन गरेको यो पोशाक उनले यस अगाडि पनि बर्कि‌घम दरवारमा भएको बिशेष भोजमा पनि लगाएका थिए । उनको मृत्युको एक महिना पछाडि उनका बिशेष पोशाकहरु लिलामीमा बिक्रीका लागि राखिएका थिए ।

यस बिक्रीबाट आउने रकम क्यान्सर तथा एड्स सम्बन्धी च्यारिटीमा जम्मा गर्न लागिएको थियो । जसमा नेपालमा राजकिय भोजमा लगाइएको पोशाक पनि पनि बिक्रीमा राखिएको थियो । बिश्व बिख्यात लिलामकर्ता क्रिस्टिजले आयोजना गरेको यो लिलामीको कार्यक्रमबाट ३२ लाख ५० हजार डलर संकलन भएको थियो ।

यस लिलामीमा नेपालमा लगाइएको पोशाक पनि ५१७५० डलरमा बिक्री भएको थियो । जबकी सो पोशाक बनाउन क्याथरिन वाकरले ५००० डलर पनि लिएका थिएनन् । साथै सो पोशाक दुइ पटक मात्र लगाएका थिए ।

प्रतिक्रिया