शुक्रबार, असार ६, २०८२

दक्षिण कोरियामा पारमाणविक हमला गरेको उत्तर कोरियाको दाबी

नेपालखोज २०८० भदौ १४ गते ११:०३

प्योङयाङ । उत्तर कोरियाले दक्षिण कोरियाको सैन्य अखडाहरू लक्षित दुई छोटा दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

त्यसलाई ती निशानामा पारमाणविक आक्रमणको नमुनाका रूपमा पनि हेरिएको बताइएको छ।

त्यहाँका सरकारी सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्रमा अमेरिकाले रणनीतिक बमवर्षक विमान तैनाथ गरेको घटनाविरुद्ध चेतावनी स्वरूप उक्त परीक्षण गरिएको हो।

दक्षिण कोरियाले दुई वटा क्षेप्यास्त्रहरू समुद्रमा खसेको जानकारी दिएको छ।

दक्षिण कोरिया र अमेरिकाले वार्षिक रूपमा हुने संयुक्त सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण गरिएको हो।

प्योङयाङले लामो समयदेखि उक्त अभ्यासलाई युद्ध पूर्वाभ्यासको रूपमा व्याख्या गर्दै आएको छ।

उत्तर कोरियाली सेनाले भनेको छ, ‘क्षेप्यास्त्र बुधबार अबेर प्रहार गरिएको हो। र त्यो दक्षिण कोरियाका “विभिन्न प्रमुख अखडाहरूमा रणनीतिक पारमाणविक अभ्यास गर्दा कस्तो हुन्छ भन्ने दर्शाउन गरिएको हो।’

‘दुस्मनलाई स्पष्ट सन्देश दिने उद्देश्यले यो अभ्यास गरिएको हो,’ सेनाले थप भनेको छ।

अमेरिका र दक्षिण कोरियाको एघार दिनसम्म चलेको संयुक्त सैन्य अभ्यास समाप्त हुनुभन्दा एक दिनअघि यो क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो।

प्रतिक्रिया