बिहीबार, जेठ ३, २०८१

पर्यटक तान्दै रिघा उदय बुद्धविहार

नेपालखोज २०८० भदौ १७ गते ६:२८

काठमाडौं । वरपर जङगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

बाह्र वर्ष अगाडि शिलान्यास गरिएको विहार केही महिना अगाडि मात्रै सञ्चालनमा आएको हो । विहार सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटक घुम्न आउन थालेका हुन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र चिरविर चराचुरुङ्गीको आवाजले आगन्तुकलाई थप आकर्षित गर्छ ।

मध्यपहाडी लोकमार्गदेखि आधा घण्टाको उकालो यात्रामा पुग्न सकिने बुद्धविहार नजिकै रिघा गाउँ छ । मौलिक गाउँका रुपमा परिचित गाउँवासीले पर्यटकलाई आकर्षित गरेकै थियो, त्यसमाथि नवनिर्मित बुद्धविहारका कारण दैनिक घुम्न आउने आगन्तुकको सङ्ख्या बढ्न थालेको हो ।

उक्त गाउँ र बुद्धविहारसँगै यस ठाउँबाट देखिने अनगिन्ती दृश्यले पर्यटकलाई मोहित गराउँछ । कच्ची सडक हुँदा यात्रामा केही कठिनाई भए पनि विहार क्षेत्रमा पुग्दा धेरैको थकान, भोक र प्यास मेटिन्छ । प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्ती काउचाले बताए ।

विहार क्षेत्र प्राकृतिक सौन्दर्यको हिसाबले निकै मनोरम भएर पनि आवश्यक पूर्वाधार निर्माण हुन नसकेको उनको भनाइ थियो । अध्यक्ष काउचाले लामो समयको मेहनतपछि अहिले विहार सञ्चालनमा आएको सुनाउँदै अब यसको प्रचारप्रचारमा लाग्नुपर्ने बताए ।

अहिले विहारमा बौद्ध दर्शनका बारेमा प्रवचन दिइनाका साथै बेलाबेलामा भिक्षु आउने गरेका छन् । लोकमार्गदेखि विहारसम्म पुग्ने सडक अप्ठ्यारो रहेको हुँदा यसलाई व्यवस्थित गर्न प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिने वडाध्यक्ष श्रीसले बताए ।

प्रतिक्रिया