सुडानी सेनाप्रमुख वार्ता गर्न दक्षिण सुडानमा

संयुक्त राष्ट्रसङ्घले सुडानी शरणार्थीहरूको सङ्ख्या यो वर्षको अन्त्यसम्ममा दोब्बर हुनसक्ने चेतावनी दिएपछि युद्धग्रस्त सुडानका सेना प्रमुख दक्षिण सुडानका राष्ट्रपतिसँग वार्ता गर्न सोमबार राजधानी जुबाको भ्रमणमा छन् ।
गत अप्रिल १५मा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्ससँग युद्ध सुरु भएपछि सेना प्रमुख अब्देल फताह अल–बुर्हानको यो दोस्रो विदेश भ्रमण हो । उनले दक्षिण सुडानका राष्ट्रपति साल्भा किरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि उनी इजिप्टको भ्रमणमा गएका थिए ।
सुडानका कार्यवाहक विदेशमन्त्री अली अल–सादिकले दुई दशक लामो गृहयुद्धपछि सन् २०११ मा स्वतन्त्रता हासिल गरेको दक्षिण सुडानले खार्तुममा जारी द्वन्द्वमा मध्यस्थता गर्नसक्ने बताएका छन् ।
‘हामीलाई सुडानमा भएको द्वन्द्वको मध्यस्थता गर्न दक्षिण सुडान सबैभन्दा उपयुक्त देश हो भन्ने लाग्छ, किनकि हामी लामो समयदेखि एउटै देश रह्यौँ र हामी एकआपसमा परिचित छौँ, हामीलाई समस्याबारे जानकारी छ भने आवश्यकताबारे पनि अवगत छ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन् ।
सेना प्रमुख बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको ¥यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् । सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ ।
यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् । युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ ।
केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए । दुई सैन्य निकायबीच शासन सत्ता हत्याउनका लागि सुडानमा द्वन्द्व भइरहेको हो ।
सुडानमा हाल सेनाप्रमुख बुर्हानले शासन सञ्चालन गरेका छन् । उनले मुलुकको प्रणालीलाई अस्तव्यस्त बनाएको तथा प्रजातन्त्र मासेको भन्दै सशस्त्र बलको नेतृत्व गरेका डग्लो सैनिक शासनविरुद्ध युद्धमा उत्रिएपछि अहिलेको विषम परिस्थिति सृजना भएको हो ।
प्रतिक्रिया