सोमबार, वैशाख १७, २०८१

‘हेलो सरकार ११११’ को सेवा थप प्रभावकारी बनाउन एनसेलसँग सहकार्य

नेपालखोज २०८० भदौ १९ गते १०:०३

काठमाडौं । सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’ को टोलफ्री नम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ । यससँगै अब एनसेलका ग्राहकले पनि ‘हेलो सरकार’को यो नम्बरमा निःशुल्क कल गरी आफ्ना गुनासा राख्न सक्छन् ।

आइतबार ‘हेलो सरकार’को सेवालाई अझ विस्तारित बनाउँदै शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा एनसेलबाट पनि ‘हेलो सरकार’को हटलाइन नम्बरमा कल गर्न सकिने घोषणा गरिएको हो ।

विस्तारित सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन ‘हेलो सरकार’ तीन सिफ्टमा चौबीसै घण्टा सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । ‘हेलो सरकार’ र एनसेलको सहकार्यबारे बोल्दै उनले भने, ‘हेलो सरकारमा एनसेल पनि जोडिन आएकोमा धन्यवाद दिन चाहन्छु ।’

‘हेलो सरकार’ आमनागरिकका गुनासा र सुझाव सुनवाइ लागि सरकारले विगत १२ वर्षदेखि सञ्चालन गर्दै आएको विशेष संयन्त्र हो । ‘जनगुनासा सुन्नका लागि ‘हेलो सरकार’ उदाहरणीय संयन्त्र हो । सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

एनसेलका ग्राहकले ‘हेलो सरकार’को ११११ नम्बरमा भदौको पहिलो सातादेखि नै निःशुल्क कल गर्न सक्ने भएका थिए । प्रधानमन्त्री कार्यालयले यसको औपचारिक घोषणा आइतबार गरेको हो ।

आइतबारको कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले अब एनसेलबाट पनि कल लाग्ने व्यवस्था मिलाइएको बताए । ‘हेलो सरकार’लाई थप प्रभावकारी बनाउन ‘र र्यापिड रेस्पोन्स टिम’समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोनबाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि आफ्ना गुनासा र सुझाव टिपाउन सक्छन् ।

एनसेलको बारेमा

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ ।

उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ ।

त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्ध छ ।

एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया