पक्राउ परेका खरेललाई काठमाडौं ल्याइयो, भोलि म्याद लिइने

काठमाडाैं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि कपिलवस्तुबाट पक्राउ परेका रुपन्देही घर भई हाल काठमाडौंको टोखा बस्ने सुमन खरेललाई आज साँझ काठमाडौं ल्याइएको छ ।
आज समय अभावमा कारण अदालतबाट म्याद लिन नभ्याइएकाले भोलि म्याद थप गरी अनुसन्धान अघि बढाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । यसअघि भारतमा लुकीछिपी बस्दै आएका खरेललाई सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरी लैजान लागेका बेला काठमाडौंको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो ।
ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ । सुन तस्करी प्रकरणको थप सूचना लिन प्रहरीको एउटा टोली भारत गएको छ । प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ गएका थिए ।
प्रतिक्रिया