बुधबार, जेठ २, २०८१

विद्यार्थी नै बेच्छन तरकारी

नेपालखोज २०८० भदौ २० गते १३:०९

तुलसीपुर । केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–४ स्थित कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन् ।

कृषि शिक्षा बढी प्रयोगात्मकमा केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थी मिलेर यसरी कृषि खेती गरिएको र उत्पादित तरकारी आफैँले बिक्री गर्ने गरेको एक विद्यार्थी रेशम विश्वकर्माले बताए ।

‘हाम्रो विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिककरण गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ’, उनले भने, ‘खोज अनुसन्धान गर्न सहज पनि भएको छ ।’

विद्यालयले बीउलगायत अन्य प्राविधिक सहयोगका साथै आवश्यकताअनुसार ऋण पनि दिने गरेकामा विद्यार्थीरुले त्यो ऋण त्यही उत्पादित वस्तु बिक्री गरेर तिर्नाका साथै बाँकी रहेको रकम कोषमा जम्मा गर्ने गरेका छन् ।

प्रयोगात्मकका लागि लाग्ने खर्च त्यही कोषबाट ब्यहोर्दै आइएको विद्यार्थी शोभा बुढाथोकीले बताईन् । तुलसीपुर–३ स्थित गोटीखोलामा आठ कट्ठा, रानागाउँमा दुई बिघा १७ कट्ठा, गाडीबरा सामुदायिक वनको एक बिघा जति जग्गा भाडामा लिएर यसरी खेती तथा अन्य प्रयोगात्मक कार्य हुँदै आएको छ ।

मेहनतअनुसारको फल प्राप्त भएपछि विद्यार्थीहरुलाई थप हौसला मिलेकोे छ । विद्यार्थीहरुलाई आम्दानी पनि हुने र अनुसन्धान पनि हुने भएकाले पनि व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको हो । योसँगै विद्यार्थीहरुले कस्तो ठाउँ र कस्तो मौसममा के खेती हुन्छ भन्ने कुरा पनि थाहा पाउने गरेका छन् ।

प्रतिक्रिया