आइतबार, असार १, २०८२

हजारौँ हेक्टर जग्गा अतिक्रमणको चपेटामा

नेपालखोज २०८० भदौ २१ गते १४:२८

रौतहट । जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने काम तीव्ररुपमा बढेको छ ।

सम्बन्धित निकाय मौन हुँदा राजमार्ग क्षेत्रका आसपासमा भएका अतिक्रमित वन जङ्गलको जग्गामा पक्की घर निर्माण गर्ने होडबाजी नै चलेको स्थानीय बताउँछन् । वन अतिक्रमण तीव्ररुपमा बढे पनि वन प्रशासनले त्यसतर्फ ध्यान दिएको छैन ।

सबैभन्दा बढी वृन्दावन नगरपालिका–१ बलेरीको जङ्गल अतिक्रण भएको छ । सो ठाउँमा घर बनाउनेक्रम बढेको स्थानीय बताउँछन् । ‘पहिला सुकुम्बासीको नाममा जङ्गल फँडानी गरी भोटे टोल स्थापना भएको थियो, अहिले यो टोल आसपासका ठाउँमा वन कार्यालय मलेरीका कर्मचारीको मिलेमतोमा वन मासेर घर, टहरा बनाउनेक्रम बढ्दै गएको छ’, जङ्गलसहिया साझेदारीका पूर्वउपाध्यक्ष मितेश नन्दन मिश्राले भने ।

केही समय पहिला डिभिजन वन कार्यालयले नर्सरी बनाएर वृक्षरोपण गरेको स्थानमा घर बनाउने कार्य देखिएको डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले बताए ।

जिल्लाको बलेरीमा मात्र नभएर अन्य स्थानमा समेत वनको जग्गामा घरटहरा बनाउनेक्रम देखिएको छ । चन्द्रपुर नगरपालिकाको बेतौनाको जङ्गलमा राजनीतिक दलको संरक्षणमा घरटहरा बनाउनेक्रम बढ्दै गएको छ ।

प्रतिक्रिया