सोमबार, वैशाख १७, २०८१

पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका

नेपालखोज २०८० भदौ २१ गते २०:४५

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले देशको पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताए ।

पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउन पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई छुट्टाछुट्टै फोटोपत्रकारिता प्रशिक्षणको समापनका अवसरमा बोल्दै उनले देशको पर्यटनका बारेमा लेखिने सकारात्मक समाचारले देशकै छवि निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उनको भनाइ थियो । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्तरूपमा सञ्चालित परियोजना, जीविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल फोटो पत्रकार समूह, सञ्चारिका समूहसँगको सहकार्य तथा सिटिजन्स मिडियाको प्राविधिक संयोजनमा तालिम आयोजना गरिएको हो ।

गत असार १२ देखि १४ गतेसम्म महिला सञ्चारकर्मीका लागि तथा साउन २ देखि ४ गतेसम्म अन्य सञ्चारकर्मीका लागि पर्यटन फोटो पत्रकारिता प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा ५५ महिला सञ्चारकर्मी तथा ५० पुरुष सञ्चारकर्मी गरी एक सय पाँच पत्रकारको सहभागिता रहेको बोर्डले जनाएको छ । युएनडिपीका ‘पोर्टफोलियो म्यानेजर’ कल्पना सरकारले युएनडिपीले समावेशितालाई ध्यान दिँदै विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकारका लागि आयोजित यो तालिम महत्त्वपूर्ण भएको बताए ।

उनले आगामी दिनमा पनि यस्ता तालिममा सहकार्य गरिने प्रतिबद्धता जनाए । सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त, प्रशिक्षक किशोर श्रेष्ठ, एसटीएलआरपीका जीविकोपार्जन विज्ञ धर्म दबाडी, प्रशिक्षार्थीका तर्फबाट राजेन्द्र श्रेष्ठ, सुशीला बस्नेतलगायतले तालिमले पत्रकारको व्यावसायिक क्षमता अभिृवृद्धिमा सहयोग पुग्ने बताए । तालिममा वरिष्ठ फोटो पत्रकारहरूले फोटो पत्रकारिताका विभिन्न विषयमा प्रशिक्षण दिए ।

प्रतिक्रिया