सोमबार, वैशाख १७, २०८१

पर्यटन प्रवर्द्धन ताप्लेजुङका स्थानीय तह

नेपालखोज २०८० भदौ २२ गते १२:०८

फुङ्लिङ । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् ।

धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिंदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ ।

फक्ताङलुङ गाउँपालिकाले कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकहरुको लागि गाउँपालिकामा पर्यटन भित्र्याउनका लागि पहिलो सडक विस्तार तथा पदमार्ग निर्माणमा जोड दिएको छ । यस गाउँपालिकामा विश्वको अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण (फक्ताङलुङ) हिमाल रहेको छ भने सिङ्जेमा ताल, करिब चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा, मानभारालगायत थुप्रै पर्यटकीय स्थलहरु पर्दछ ।

उच्च हिमाली क्षेत्रहरुमा अक्सिजनको व्यवस्थापन, ओलाङचुङगोला बस्ती नजिकै रहेको सिङ्जेमा तालमा जाने पदमार्ग र सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापक गरिएको पालिकाका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक तथा व्यापारिक महत्वको निर्माणाधीन तमोर कोरिडोरको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने कञ्चजङ्घा हिमाल प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका—घुन्सा बस्तीसम्म मोटरबाटो विस्तार गर्ने कार्यक्रम रहेको छ ।

मिक्वाखोला गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्नका लागि समुन्द्र सतददेखि चार हजारमाथि रहेको लोदन क्षेत्रमा गोठस्टेका लागि सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताए ।

त्यस्तै धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि लिम्बू समुदायको माङहिम निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ । उनका अनुसार गाउँपालिका केन्द्र नजिकै रहेको फुङ्फुङगे झर्ना शृङ्गार गर्न लागि सङ्घीय सरकारबाट एक करोड बजेट विनियोजन भएको छ ।

सिदिङवा गाउँपालिकाको—७ मा अवस्थित देशकै प्रसिद्ध तिम्बुङ पोखरी धार्मिक तथा अन्य पर्यटकको गन्तव्यस्थल हो । यहाँको ढङ्ढङगे झर्ना, चमेरे गुफा, काबेली माङहिम र सिदिङवाधाम पनि पर्यटकीय आकर्षणका स्थलहरु हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन गर्नका लागि २६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिए ।

मैवाखोला गाउँपालिकाले बृहत पर्यटन प्रवद्र्धन गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ । ऐतिहासिक तथा धार्मिक पर्यकीय स्थल ओसाङलु पनि मैवाखोला गाउँपालिकाको एक पर्यकीय गन्तव्य भित्र पर्दछ ।

यस क्षेत्रमा प्रमुख पर्यटकीय क्षेत्रहरुमा गुराँसको राजधानी तीनजुरे मिल्के पर्दछ । तीनजुरे मिल्के तेर्थुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल पनि हो । यस क्षेत्रमा चैत बैशाखमा महिनामा गुराँस फुल्ने गर्दछ । गुराँस फूलने समयमा गुराँसको अवलोकन गर्ने आउँने पर्यटकहरुको चहलपह बढी हुने गर्दछ । मैवाखोला गाउँपालिकाले यस क्षेत्रमा गुराँस पार्क निर्माण गर्नका लागि गुरुयोजना बनाउनका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

जिल्लाको सदरमुकामसमेत रहेको फुङ्लिङ नगरपालिका भएर नै अधिकांश पर्यटकहरु जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरुमा घुम्न जाने गर्दछन् । विश्व प्रसिद्ध धार्मिक स्थाल पाथीभरा फुङ्लिङ नगरपालिकाको मात्र नभएर जिल्लाकै प्रमुख धार्मिक स्थल हो । पाथीभरा मन्दिरमा दैनिक रुपमा देश विदेश देखि दर्शन गर्न हजारौको संख्यामा आउने गर्दछ ।

फुङ्लिङ नगरपालिकाले पर्यटन प्रवद्र्धन समिति बनाएर फुङ्लिङ नगरपालिका भित्रको पर्यटकीय क्षेत्रहरुको गुरुयोजना बनाउने तयारीमा रहेको नगर प्रमुख अमिर मादेनले बताए । सिदिङवा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजंघा हिमाल नै हो ।

यस हिमालको आधारशिविरसम्म सडक पुर्याउन ट्रयाक खोल्ने काम भइरहेको सिरिजंघा गाउँपालिकाका उपाध्यक्ष डा.चित्र माबोले बताए । कञ्चनजंघा हिमालको अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरेको गाउँपालिकाले होमस्टे प्रवद्र्धन कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ ।

सिरिजंगा गाउँपालिका—६ मामांखे गाउँमा रहेको लिम्बू संग्राहलय पनि एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजाने गाउँपालिकाले जनाएको छ । लिम्बूका अनुसार सिरिजंगा गाउँपालिकामा मुन्धमी लाम-मुन्धमी पदर्माग निर्माण गर्ने योजनामा रहेको छ । लिम्बू समुदायको मुन्धुम र राई जातिको पुरानो धार्मिक ग्रन्थ र लोक साहित्य हो । पदर्मागमा मन्धमा आउँने विभिन्न संरचान तथा सामग्रीहरु प्रस्तुत गर्नेगरी गुरुयोजना बनाउँने गाउँपालिकाले जनाएको छ ।

मेरिङदेन गाउँपालिकाको प्रमुख पयटकीय स्थलहरुमा गुराँसे पोखरी, मेरिङदेन झर्ना पर्दछ । र्याप्टिङका लागि दोभान उपयुक्त क्षेत्र मानिन्छ । त्यस्तै अन्तरिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले मेरिङदेन चौतारी पार्क समेत निर्माण गरेको मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकवीर हांग (डम्बर) ले बताए । त्यस्तै धार्मिक पर्यटकीय क्षेत्रहरुमा माहाछिरुङ माङगेना यक साथै विभिन्न गुम्बाहरु यस गाउँपालिकाका पर्यटकीय क्षेत्रहरु पर्दछन् ।

पर्यटन प्रवद्र्धन गर्नका लागि गाउँपालिकाले चालु आवमा मेरिङदेन झर्ना जाने पदमार्गका लागि १५ लाख रुपैयाँ कोशी प्रदेश सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । गुराँसे पोखरीको सुन्दर्यताका लागि गाउँपालिकाले केही रकम विनियोजन गरेको मेरिङदेन गाउँपालिका अध्यक्ष हांगामले बताए । त्यस्तै धार्मिक पर्यटन प्रवद्र्धन र मेरिङदेन चौतारी पार्क निर्माण गर्नका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

सदसरमुकाम फुङ्लिङ बजारदेखि नजिकै रहेको गाउँपालिका केन्द्र पाथीभरा याङवरकमा धार्मिक महत्व बोकेका धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । यस गाउँपालिकामा रहेका धार्मिक महत्वको पर्यटकीय क्षेत्रहरु केसामी नाम्सनी, थाप पोखरी, धर्ती भाटा तथा गुरुङ गुम्बाहरु पर्दछन् । गुम्बा निर्माण गर्न केही गोरेटो बाटो मर्मतका लागि समेत गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताए ।

प्रतिक्रिया