सोमबार, वैशाख १७, २०८१

पर्यटकको आकर्षक गन्तव्य धारागोला

नेपालखोज २०८० भदौ २३ गते ६:५१

झापा । जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ । आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न नौ वर्ष अघिदेखि युवाहरु सक्रिय थिए। युवाहरुको सक्रियता र पछिल्लो समय तीनै तहका सरकारको सहयोगले धारागोला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले बताए ।

उनका अनुसार सङघ, प्रदेश र स्थानीय सरकारको हालसम्म सो स्थानमा रु एक करोड २० लाख खर्च भइसकेको छ। उनले हाल धारागोलामा पाँच तले दृश्यावलोकन स्तम्भ, हरित पार्क र विभिन्न देवीदेवताका आकर्षक मूर्ति बनाएर सजाइएको बताए ।

स्तम्भ निर्माणको लामो समय बितिसकेका कारण यसको संरक्षण, संवद्र्र्धन र पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले वार्षिक रु ६० हजार वडालाई तिर्ने सर्तमा ठेक्का लगाइएको उनको भनाइ छ । स्थानीय होटेल व्यवसायी यामबहादुर लिम्बूले एक वर्षका लागि स्तम्भ ठेक्कामा लिएको उनले जानकारी दिए ।

करिब दुई बिघा क्षेत्रफलमा फैलिएको जग्गामा पर्यटन मन्त्रालयबाट गत वर्ष प्राप्त रु ५० लाख र जनश्रमदानबाट रु १२ लाख सङ्कलन गरेर हरित पार्क निर्माण गरिएको छ । मेची राजमार्ग नजिक रहेको धारागोलामा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि विसं २०७१ मा प्रथम धारागोला महोत्सवको आयोजनासमेत गरिएको थियो । रासस

प्रतिक्रिया