ट्राफिक प्रहरीको लापसे चेकिङ : दुई जना चालक नियन्त्रणमा

नेपालखोज २०८० भदौ २३ गते ११:०७

काठमाडौं । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३–००१ ज ३८६ नम्बरको इलेक्ट्रिक माईक्रो चालक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ चौतारा घर भइ हाल काठमाडौंको नारायणटार बस्ने २३ वर्षीय रिजन श्रेष्ठ र ना १ ज ५४ ६५ नम्बरको टाटासुमो चालक महोत्तरीको बर्दिबास नगरपालिका ३ घर भई हाल काठमाडौँको कोटेश्वरर बस्ने ३७ वर्षीय सुन बहादुर पुर्वछाने रहेका छन् ।

नियन्त्रणमा लिएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा पठाईएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले आज १९ ओटा सवारी साधनका चालकलाई चेक गर्दा २ जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया