प्रदेशमा प्रहरी समायोजन हुन सकेनः मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानले प्रदेशलाई सुरक्षा गर्ने अधिकार दिएको भए पनि प्रहरी समायोजन हुन नसकेको बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा समन्वयमा कठिनाइ भएको बताएका हुन् ।
गठबन्धन सरकार बन्दै गर्दा छ महिनाभित्र प्रहरी समायोजन गर्ने कार्ययोजनामा उल्लेख भएको भन्दै उ्नले यसै महिनाभित्रमा समायोजन हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।
नेपाल प्रहरीका कार्यगत गुनासा धेरै आएको भन्दै उनले आफ्नो कार्यशैली सुधार गर्न निर्देशन दिए । उनले भने, ‘आफ्नो कार्यशैली सुधार गर्नुहोस्, प्रहरीमा सेवा लिन आउने सेवाग्राहीले सन्तोषपूर्ण वातावरणमा फर्किने वातावरण सिर्जना हुन जरुरी छ ।’
सो अवसरमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले भवन बनेसँगै ट्राफिक प्रहरीलाई काममा सहज हुने बताए ।

प्रतिक्रिया