शुक्रबार, वैशाख २१, २०८१

सुक्खा पहिराेका कारण दुई दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अझै खुलेन

नेपालखोज २०८० भदौ २५ गते २०:१२

गलेश्वर । आइतबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडक खण्ड आज दिउँसोसम्म पनि सञ्चालन नभएपछि यात्रुहरू समस्यामा परेका छन् । म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म पनि निरन्तर खसिरहेको छ ।

पहिराेको कारण आज साँझसम्म पनि सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिराले सताइरहने सो सडक खण्डमा आइतबारदेखि पुरानो पहिराको करिब ६० मिटर वर तातोपानी क्षेत्र तर्फबाट नयाँ सुक्खा पहिरो खसेपछि नयाँ समस्या थपिएको हो । सुक्खा पहिराका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधनहरू तातोपानी र दरबाङदेखि बेनीतिर जाने सवारी साधनहरू मसारमा रोकिएका छन् ।

यात्रुहरू घुमाउरो बाटो प्रयोग गरेर पैदल नै आ–आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीयवासी बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताए । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेकोमा अहिले नयाँ ठाउँबाट सुक्खा पहिरो झर्न थालेपछि झनै समस्या भएको उनले बताए ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरू घुमाउरोबाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ छ ।

उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र दुई सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको भए पनि अहिले सुक्खा पहिरो खसिरहेकाले समस्या उत्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । रासस

प्रतिक्रिया