सोमबार, वैशाख १७, २०८१

किम जङको विलासी बुलेटप्रूफ रेलभित्र के छ ?

नेपालखोज २०८० भदौ २६ गते १२:२६

उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जङ अन बुले‍टप्रूफ रेल चढेर रुसको यात्रामा निस्किएका छन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भ्लादिभोस्टक नगरमा भेट्ने योजना छ ।

एक अमेरिकी अधिकारीका अनुसार रुसले युक्रेनबाट प्रत्याक्रमण झेलिरहेको बेला दुई नेताबीच शस्त्र सम्झौताबारे छलफल हुन सक्छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले किमको रेल मङ्गलवार बिहान सबेरै रुसी भूमिमा प्रवेश गरेको पुष्टि गरेको छ । उक्त रेल अहिले बन्दरगाह सहर भ्लादिभोस्टकतिर अघि बढिरहेको छ ।

किमसँग उनको सरकारका वरिष्ठ पदाधिकारीहरू र सैन्य अधिकारीहरू पनि भएको उत्तर कोरियाको सरकारी समाचारसंस्था केजीएनएले जनाएको छ ।

किम र पुटिनबीच हुने छलफलको मुख्य विषयवस्तुमा प्योङ्‌याङले मस्कोलाई युक्रेन युद्धमा सहयोग पुग्ने गरी हातहतियार दिने कुरा हुनसक्ने यसअघि एक अमेरिकी अधिकारीले सीबीएसलाई बताएका थिए।

यसअघि किम आफ्नो अन्तिम विदेश भ्रमणमा किम रुसको भ्लाडिभोस्टक नै गएका थिए। उत्तर कोरियाको परमाणुनिरस्त्रीकरण वार्ता विफल भएपछि त्यहाँ उनको र तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट भएको थियो।

लामो समयसम्म सम्मान पाएको रेल

रेलबाट लामो दूरीको यात्रा कम जङ अनका हजुरबुवा किम इल सङले सुरु गरेका थिए । उनले भियतनाम र पूर्वी युरोपको यात्रामा निस्कँदा आफ्नै रेल प्रयोग गरेका थिए ।

निकै आरामदायी यस्ता रेलहरूमा उच्च सुरक्षा पहरा हुन्छ । यहाँ रहेका सुरक्षा अधिकारीहरूले रेलको मार्ग र आउन लागेको स्टेशनमा बम वा अन्य कुनै खतरा रहे नरहेको राम्रोसँग जाँच गर्छन् ।

उत्तर कोरियामा सन् १९९४ देखि मृत्युपर्यन्त सन् २०११ सम्म शासन गरेका किम जङ अनका बुवा किम जङ इल विमानमा यात्रा गर्न डराउने भएका कारण रेलमा यात्रा गर्ने गरेको बताइन्छ ।

किम जङ इल सन् २००१ मा पुटिनलाई भेट्न मस्को जाँदा १० दिनसम्म रेलमा यात्रा गरेको विषयमा निकै चर्चित थियो ।

सन् २००१ मा उत्तर कोरियाली नेताको सवारीमा साथी पठाइएका रुसी सैन्य कमान्डर कोन्स्टान्टिन पुलिकोफ्स्कीले उक्त यात्राको ‘सान’बारे आफ्नो संस्मरण ‘ओरिअन्ट एक्सप्रेस’ मा लेखेका छन्।

‘त्यहाँ रुसी, चिनियाँ, कोरियाली, जापनी वा फ्रान्सेली सबै प्रकारका परिकार मगाउन सकिन्थ्यो,’ उनले भनेका छन्।

उनले रुसका राष्ट्रपति पुटिनको रेलमा पनि किम जङ इलले उपभोग गरे जस्तो सुविधा नभएको उल्लेख गरेका छन्।

उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार किम जङ इलको मृत्यु उक्त विलासी रेलमा यात्राका क्रममा हृदयाघातका कारण भएको थियो। –BBC

प्रतिक्रिया