बुधबार, असार १८, २०८२

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास

नेपालखोज २०८० भदौ २६ गते १६:५२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् ।

आज आयोजित विशेष समारोहकाबीच मन्त्री बस्नेतले सो आयोजनाको बाँध लगायतका संरचना (हेडवक्र्स) निर्माणको शिलान्यास गरेका हुन् । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् ।

शिलान्यास समारोहमा मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासमार्फत आर्थिकरुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे ।

मुख्यरुपमा हिउँदमा विद्युत् माग पूरा गर्नका लागि रहेकाले नमूना आयोजनाका रुपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उनले जलविद्युत् क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे ।

समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाई अतिरिक्त ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सकिने बताए ।

प्रतिक्रिया