शनिबार, फागुन १२, २०८०

राजनीतिक संस्कारका धरोहर सुवास

डा. देवी क्षेत्री दुलाल २०८० भदौ २८ गते १३:०३

काठमाडौं । नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । वि.सं २००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङको राजनीतिक प्रारम्भ २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स्ववियु सभापतिमा निर्वाचित भएसँगै भएको हो । नेम्वाङ मन्त्री, सांसद, सभामुख र संविधानसभाको अध्यक्ष भए । इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६ सालदेखि निरन्तर निर्वाचित भएर उनले नेपालको राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाउन सक्षम बनेका छन् ।

उनले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससदको नेतृत्व सम्हाले । उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गरे । जीवनको अन्तिम क्षणसम्म सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन मुख्य सूत्रधारको काम गर्दै आएका थिए ।

मृदुभाषी र सरल स्वभावका धनी

नेम्वाङ सरल स्वभावका मृदुभाषी हुन् । वैचारिक आलोचना गर्दा पनि सरल शब्दमा विषयगत र आदरार्थी शब्दको प्रयोग गर्ने विशेषता थियो । आफूलाई मनमा लागेका कुराभन्दा पनि अरुलाई नबिझाउने शब्द चयन गर्ने कला थियो । हाँसेर बोल्ने, कहिल्यै नरिसाउने सरल स्वभावका धनी उनलाई यसै कारणले जनताले भन्थे ‘आँखामा हाल्दा पनि नबिझाउँने लालगेडी हुन् हाम्रो सुवास नेम्वाङ ।’ कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान गरेका नेम्वाङ असल र सादगी नेता थिए । नयाँ पिँढीलाई राजनीतिमा सधैँ प्रोत्साहन गर्ने नेताका रूपमा धेरैले नेम्वाङलाई सम्झिने गर्दछन् ।

सम्भ्रान्त परिवारमा जन्मिएका नेम्वाङले कहिल्यै पनि तडकभडक व्यवहार देखाउनु भएन । निर्वाचनमा फजुल खर्च गर्नु भएन, सधैँ पार्टी र जनताको साथ सहयोगलाई विश्वास गर्थे । त्यसैले हुनसक्छ आजको विकृत निर्वाचन प्रणाली र दलाल पूँजीवादको प्रभावमा परेका आफ्नै कार्यकता र विपक्षीले उनलाई लोभी भने, अझ केहीले त लिम्बूको कुमाइसम्म पनि भन्न पछि पर्दैनथे । तर उनले यसता आरोपलाई मुसुमुसु हाँसेर प्रतिवाद गर्थे । नेपालको राजनीतिलाई संस्कार र इमानको पाठ सिकाइरहे । उनको यही मान्यताको आधारमा नेपाली जनताले भनेका हुन् ‘हाम्रो सुवास नेम्वाङ ।’

अप्ठ्यारो राजनीतिक अवस्थामा पनि उनले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरूको सम्बोधन गरेका थिए । राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्थे । उनको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ । उनले नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका छन् । वर्तमान संविधानको आधारमा सार्वभौम सम्पन्न जनतालाई ध्यानमा राखेर अघि बढनुपर्छ भन्ने कुरामा उनको सधैँ जोड रहँदै आएको थियो ।

कानुनका ज्ञाता र विकासप्रेमी नेता

नेम्वाङ कानुनका प्राध्यापक भएर घेरै वर्ष अध्यापनमा लागे । औसत भन्ने गर्थे, ‘म त कानुनको विद्यार्थी, आधार प्रमाणबिना बोल्दिन ।’ नेपालको संविधान बनाउने काममा संविधानसभाको अध्यक्ष भएर राम्रो भूमिका निर्वाह गरेपछि उनको छवि अन्तर्राष्ट्रिय बन्न पुगेको विश्लेषण धेरैले गर्दछन् । यो ऐतिहासिक कामका लागि नेपाली जनताले सधैंभरि सम्झिरहने छन् । सभामुख भएर उनले गरेको काम र सदन सञ्चालनमा सबै दललाई गर्ने समन्वयात्मक भूमिकाका अनुशरण पनि गरिनै रहनेछन् ।

राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहँदा पनि आफ्नो जिल्ला र निर्वाचन क्षेत्रको समग्र विकासमा उनले समुचित ध्यान पुर्याउनु भएको छ । तुलनात्मक रुपमा भौगोलिक बनावटले विकट र विकासका दृष्टिले पछि परेको क्षेत्र हो इलाम । त्यही निर्वाचन क्षेत्रबाट आफू निर्वाचित भएपछि शिक्षा, सञ्चार, यातायात, विद्युतको क्षेत्रमा धेरै राम्रा काम गरेर जनताको मन जित्न सक्नु उनीप्रतिको जिल्लावासीको विश्वास हो । यस अतिरिक्त आफ्नो जिल्लाको सवाङ्गीण विकासमा समेत समान योगदान दिएका कारण उनी आफ्नो निर्वाचन क्षेत्रभन्दा माथि उठेको नेताको रुपमा हेर्ने गरिन्छ । यी कामका लागि पनि इलामे जनताले सधैंभरि सम्झिरहनेछन् उनलाई ।

देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख गराउने वर्तमान संविधान निर्माणमा अहम् भूमिका निर्वाह गर्ने उनी यस संविधान जनताले–जनताका लागि बनाएको संविधानको रुपमा व्याख्या गर्थे । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने कदम नउठान उनले सल्लाह दिएका थिए । त्उयतबिेला उनले भनेका थिए, ‘हाम्रो संविधानले यसो गर्न दिदैन, सर्वोच्चले मान्दैन । यो प्रधानमन्त्रीको राजनीतिक अधिकार हो, म यसको सम्मान गर्छु ।’ उनले जे भनेका थिए, पछि त्यही भयो । यो विषयमा पार्टीबीचमा केही आलोच्य पनि बन्नुभयो तर उनी आफ्नो अडानमा अडिग रहे । यसले उनको विज्ञता र अडानलाई माथि पुर्यायो ।

बहु पहिचानको हिमायती

उनी नेपालको सबै जाति, भाषा, धर्म, सस्कृति र भौगोलिक विविधतामा एकता खोज्ने नेता मानिए । उनले हरपल सबैको विविध पहिचानलाई सम्मान गर्दै बहुपहिचानको अविचलित हिमायतीका रुपमा आफूलाई उभ्याए । यसैकारण उनी सबैको साझा नेताको रुपमा स्थापित भएका छन् । प्रदेशको नामाकरण सम्बन्धमा उठेको एकल जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्नु उचित हुँदैन भन्ने उनको मान्यता थियो । मूलतः उनले राखेको यो मान्यताकै आधारमा प्रदेशको नामकरण भएको छ ।

पछिल्लो समयमा कोशी प्रदेशको नामाकरणको विषलालाई लिएर केही एकल जातीय पहिचानवादीले गरेको विरोध आलोचनाका बारेमा पनि संयमतापूर्वक सम्झाउने गरेका थिए । यस विषयमा थोरैको नजरमा आलोच्य देखिए पनि बहुमत जनताको नजरमा भरोषायोग्य अविभावकका रुपमा स्थापित थिए।

सिपालु फुटबलर र साहित्यका पारखी

उनी युवा अवस्थामा सिपालु फुटबल खेलाडी थिए । इलाममा हुने फुटबल खेलमा उनको खेल देख्ने समकक्षीहरु खुलेर नेम्वाङको प्रशंसा गर्छन् । पछिल्लो समयमा पनि इलाममा हुने फुटबल खेलमा प्रमुख अतिथि र दर्शकका रुपमा उपस्थिति भएर खेलाडीहरलाई हौसला प्रदान गर्थे । इलामको फुटबल खेलको विकासमा उनले सक्दो सहयोग पुर्याएका छन् । यस अतिरिक्त उनको नेपाली साहित्यमा पनि गहिरो रुचि थियो ।

सहिद रत्नकुमार बान्तवा उनका समवयी थिए । रत्नकुमार र सुवास कवि बम देवानबाट साहित्यको अध्ययन र लेखनमा प्रभावित भएको पाइन्छ । साहित्य अध्ययनमा पनि गहिरो अभिरुचि थियो । उनलाई इतिहास, उपन्यास र कथा बढी मन पर्ने विधा थियो । कलेज पढ्दाका समय आफूले साथीहरुसँग गीत गाएको स्मरण पनि सुनाउथे । शहीद रत्नकुमार बान्तवाको कविता र मुक्तक उनलाई औधी मन पथ्र्योे । अग्रज व्यक्तित्वको जीवनीमा आधारित उनका निबन्ध फुटकररुपमा प्रकाशित छन् ।

अधुरै रह्यो राष्ट्रपति हुने सपना

पटकपटक सभामुख र संविधानसभाको अध्यक्ष भएको व्यक्तिले उपरान्त बन्ने राष्ट्रपति र प्रधानमन्त्री मात्रै थियो । उनी अघिल्लै पटक राष्ट्रपति बन्न चाहन्थे तर पार्टीले विद्या भण्डारीलाई राष्ट्रपति बनाएपछि पार्टी संसदीय दलको उपनेता बने। नेम्वाङलाई पछिल्लो पटक पार्टीले राष्ट्रपतिको उम्मेदवार बनायो । तर फरक राजनीतिक समीकरणका कारण पराजित भए । पराजयपछि अनौपचारिक गफगाफमा उनले भनेका थिए, ‘नमरी बाँचे, दैबले साँचे…, खै के के भन्छन् नि ।’ नभन्दै त्यस्तै भयो, तपाइँलाई खै के केले बाँच्न दिएन । अधुरै रह्यो तपाइँको राष्ट्रपति बन्ने चाहना । राष्ट्रपति बनेर सस्कारयुक्त काम गर्ने सपना ।

राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन, एक बहुआयामिक व्यक्तिका रुपमा रहनु भएका उनको निधनबाट नेपाली राजनीतिले अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएको छ । श्रद्धेय सुवास दाइ तपाइँ राष्ट्रको नेता, असल मान्छे त हुँदै हुन् । तपाइँले एउटा सार्थक जीवन बाँचेर राष्ट्र र जनताका लागि सकेजति राम्रा काम गरेर गए । जनता र राष्ट्रको शीर ठाडो पार्ने काम गरेर गए । आमनेपाली जनतालाई रुवाएर गए । यो क्षण भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु । अलबिदा श्रद्धेय सुवास दाइ ११ (लेखक पत्रकार हुन्)

प्रतिक्रिया