सोमबार, वैशाख १७, २०८१

ग्रेट हिमालयन ट्रेल

नेपालखोज २०८० भदौ २९ गते ६:४९

फुङ्लिङ (ताप्लेजुङ) । बृहत् पदमार्ग मानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ । यो पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि सुरुआत गरेका छन् ।

प्राकृतिक सुन्दरताको अवलोकनसँगै उच्च हिमाली क्षेत्र हुँदै पदयात्राको अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकको रोजाइमा सो पदयात्रा पर्दै गएको हो । दुई विदेशी नागरिकसहितको टोली ग्रेट हिमालयन ट्रेल पदमार्गमा भ्रमणका लागि ताप्लेजुङबाट आज घुन्सा प्रस्थान गरिसकेको छ ।

स्लोभेनियाका ६७ वर्षका मारिया आन्द्रेको नेतृत्वमा ग्रेट हिमालय ट्रायल पदमार्गका लागि यात्रा सुरु गरिएको हो । उनले यसअघि नै सगरमाथासहित आठ हिमालसमेत सफल आरोहण गरिसकेको आन्द्रेले बताए । सन् १९९१ मा ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल सफल आरोहण गरिसक्नुभएका आन्द्रेले अहिले ग्रेट हिमालयन ट्रेल पदयात्रा गर्न नेपाल आएको बताए ।

हिमालयन ट्रेलको पदयात्रा गराउनका लागि सोलुखुम्बुका इनसुहाङ राई गाइड(पथ प्रदर्शक) रहनुभएको छ । राईका अनुसार १ सय १५ देखि १ सय २० दिन सम्ममा ग्रेट हिमालय ट्रेलको पदयात्रा पूरा गर्ने योजना छ । दुई विदेशी नागरिक, आवश्यक सामग्री बोक्ने शेर्पा र एक पथप्रदर्शक गरी पदमार्गमा यात्रा पूरा गर्न ५० लाखदेखि ६० लाख खर्च हुने अनुमान गरिएको राईले बताए ।

गत साता तीन विदेशी नागरिकलाई ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट सुखद भ्रमणको कामनासहित बिदाइ गरिएको थियो । टोलीमा दुई जर्मनी नागरिक लुकास र आन्ना तथा एक अष्टेलियन नागरिक क्रिष्टोफर गे्रट हिमालय ट्रेल पदयात्रा गर्न ताप्लेजुङ पुगेका थिए ।

भ्रमण टोली ग्रेट हिमालयन ट्रेलअन्तर्गत कञ्चनजङ्घा बेसक्याम्प घुन्साबाट ओलाङचुङ्गोला हुँदै लुम्बासुम्बा हिमालबाट सङ्खुवासभाको मकालु बेस क्याम्पतर्फ जाने कार्यसूची रहेको पर्यटन व्यवसायी तेञ्जिङ नुपुले जानकारी दिए । उनीहरुको भ्रमण ग्रेट हिमालयन ट्रेलअन्तर्गत नेपाली पदमार्ग क्षेत्रमै केन्द्रित हुने जानकारी आफूले पाएकोसमेत उनले बताए ।

ग्रेट हिमालयन ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब १ सय ५० दिन आवश्यकपर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङले सुनाए । टोली फुङ्लिङबाट पदमार्ग हुँदै हाङ्देवा–मितलुङ–सिँवा–छिरुवातर्फ अघि बढेको छ । सडक सञ्जाल स्थापित हुनु अघि विदेशी पर्यटकले कञ्चनजङ्घातर्फ जान प्रयोग गर्ने यही मार्ग हो ।

पदमार्ग मात्र हुँदा विदेशी पर्यटकले सदरमुकाम फुङ्लिङबाट लेलेपतर्फको पदमार्ग प्रयोग गर्दा पहिलो क्याम्पका रुपमा मितलुङ, दोस्रो छिरुवा र तेस्रो लेलेपलाई प्रयोग गर्ने गरेका थिए ।

करिब चार हजार पाँच सय किमी लामो ग्रेट हिमालयन ट्रेलमध्ये नेपालमा मात्र करिब एक हजार सात सय किमी भाग पर्छ । यसले नेपालको पूर्वमा ताप्लेजुङको कञ्चनजङ्घादेखि पश्चिममा दार्चुलासम्मको भूभाग ओगटेको छ । नेपालभित्र मुख्य १० क्षेत्रलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा कोरिएको हो ।

ग्रेट हिमालयन पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने अवधारणा अघि सारिएको छ । ताप्लेजुङमा पर्यटकको चहलपहल हुन थालेसँगै पर्यटन व्यवसायी, होटल सञ्चालक तथा यातायात व्यवसायी उत्साहित भएको होटल व्यवसायी विमल भण्डारीले बताए ।

प्रतिक्रिया