शुक्रबार, जेठ ४, २०८१

पोखरामा विद्यालय नाटक महोत्सव

नेपालखोज २०८० भदौ २९ गते ७:१०

गण्डकी । पोखरा थिएटरद्वारा आयोजित पाँचौँ संस्करणको पोखरा विद्यालय नाटक महोत्सवमा १५ वटा नाटक मञ्चन हुँदैछन् ।

बुधबारदेखि सुरु भएको यो महोत्सव असोज १२ गतेसम्म सञ्चालन चल्नेछ । महोत्सवमा पोखरा महानगरपालिकाभित्रका १४ र काठमाडौंबाट अतिथि नाटकका रुपमा एक नाटक मञ्चन गरिने छ । यो संस्करणको विद्यालय नाटक महोत्सवको नारा ‘शिक्षण विधिका रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।

सबैको साथ सहयोगमा महोत्सव आयोजना हुँदै आएको बताउँदै महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पाँच वर्षको यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

पोखरा थिएटरका संस्थापक सञ्चालक दीलप्रसाद गुरुङले नाटक महोत्सवप्रतिको आकर्षण बढ्दै गएको बताउँदै पोखरा थिएटरको स्थापना यता विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाटक मञ्चन, नाटक महोत्सवका साथै रङ्गमञ्चीय गतिविधि बढाइएको बताए ।

महोत्सवको पहिलो दिन बुधबार हिल पोइन्ट मावि माटेपानी पोखराद्वारा तयार गरिएको नाटक ‘शिलान्यास’ मञ्चन गरिएको थियो । भीमनिधि तिवारीद्वारा लिखित नाटक रमेश तिमल्सिनाको निर्देशनमा मञ्चन गरिएको हो ।

महोत्सवको दोस्रो दिन नवदीप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भूत’ नाटक मञ्चन गरिन्छ । सरुभक्तद्वारा लिखित यो नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार गरिएको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताका लागि एक हजार रुपैयाँ तिरेर सदस्यता लिनसक्ने व्यवस्था मिलाइएको थिएटरले जनाएको छ ।

प्रतिक्रिया