सोमबार, वैशाख १७, २०८१

तीनधारे झरनाको प्राकृतिक सुन्दरतामा रम्दै पर्यटक

नेपालखोज २०८० भदौ ३० गते ७:२०

धुलिखेल । पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा । जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाइरहनेहरुको घुइँचो उत्तिकै छ ।    
    
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको तीनधारे झरना पछिल्लो समयमा सबैको रोजाइको केद्र बनेको छ । ‘झरना हेर्न र घुम्न त आइयो तर त्यहाँसम्म त जान सकिँदैनजस्तो छ, यहीँबाट पनि राम्रो देखिने रहेछ’, तीनधारे झरना घुम्न पुगेका पत्रकार रक्तिम लामाले भने । यतैबाट हेरेर फर्किनु पर्ला ।’ झरनाको सुन्दर दृश्य अवलोकन गर्न वारि डाँडामा निर्माण गरेको रेलिङमा अडेस लगाउँदै उनले बताए । यहाँको प्राकृतिक सुन्दरताका कारण प्रकृतिमा रम्न चाहनेहरु दैनिक रुपमा यसरी नै त्यस ठाउँमा पुगेर आनन्द लिने गरेका छन् । झरनाको कञ्चन पानीमा पौडी खेल्ने र छङ्छङ् झरिरहेको पानीमा रुझेर आनन्द लिनेहरुको भीड पनि उत्तिकै छ त्यहाँ ।    
    
काठमाडौंबाट झरना अवलोकन गर्न काफलडाँडा पुगेका मिङ्मा शेर्पाले पर्यटन विकासको सम्भावना बोकेको ठाउँ अति नै मनमोहक लागेको बताए । झापा घर भएर काठमाडौँ बस्दै आएका उनले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत झरनाका बारेमा जानकारी पाएको बताउँदै त्यहाँ पुग्दा झन् मोहित बनेको सुनाए । झरनासम्म पुग्नका लागि सडक सुविधामा भने सुधार गर्नुपर्ने उनको सुझाव छ ।    
    
बालककालदेखि नै सो डाउँमा घाँसदाउरा गर्दै आएका वडा नंं २ का स्थानीय बासिन्दा हिराकाजी बलले झरनाको प्रचार भएपछि मात्र यस ठाउँले विकासमा फड्को मार्न सकेको बताए । पहिलादेखि प्रख्यात रहेको भुरुङ्गे लेकसम्म मोटरबाटो भएको खण्डमा डाँडापारिबाट समेत घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ । वडा नं १ ताङलिङका अर्का बासिन्दा सिंगध्वज थोकरले झरना भएको ठाउँमा पहिला शक्तिशाली नाग रहेको पुर्खाहरुले सुनाउने गरेको स्मरण गर्छन् । पहिला सबै ठाउँका नागहरु शनिबार भेला हुने गरेको कथनसमेत सुनाउने गरेको पुर्खाको भनाइ उद्धृत गर्दै उनले बताए ।    
    
जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको सो ठाउँ प्रचारमा आएसँगै त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो क्रममा झरनाको अवलोकन गर्न पुगेका नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा झरना भएको ठाउँमा पुगेपछि छुट्टै आनन्द मिल्ने गरेको अनुभूति भएको बताए । सो ठाउँको विकासका लागि अन्तरपालिकाको समन्वय बैठकबाट विकास र प्रवद्र्धनका लागि गर्न सकिने सहकार्यमा हातेमालो गर्ने योजना बनाउन अगाडि बढ्ने उनले बताए ।

प्रचारको प्रभाव बढ्दै गएको र यसको महत्व पनि फराकिलो बन्दै गएको अवस्थामा अब राष्ट्रियस्तरको पर्यटकीय क्षेत्र बनाउन पहुँच मार्ग निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । ‘अहिले पालिकाको सीमित स्रोतसाधनबाट मात्रै प्रयास गर्दै आएका छौँ, अब प्रदेश सरकारसम्म यसको कुरा पुगिसकेको छ’, उनले भने । झरना क्षेत्रलाई अझ सुधार गर्दै पर्यटकको गन्तव्यस्थल बनाउन पालिकाले विस्तृत परियोजना रिपोर्टसमेत बनाइसकेको छ । पालिकाले अहिले झरनासम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने र माथि डाँडाबाट झरनासम्म जाने बाटोमा रेलिङ हाल्ने काम भइरहेको उनले बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले झरनाको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेसँगै स्थानीय बासिन्दाको आयस्तरमा पनि वृद्धि हुने खालको योजना बनाउन आवश्यक रहेको बताउँछन् । पर्यटकलाई स्थानीय उत्पादनको परिकार खुवाएर आम्दानी लिने र त्यहाँ पाइने जडीबुटीको प्रशोधन गरी आम्दानीको स्रोतमा वृद्धि हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।    

 उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले झरना क्षत्रेमा पुगेर मुलुकले समृद्धि, आर्थिक विकास र जीवनस्तरमा सुधार ल्याउन तीनधारे झरनाको पर्यटकीय विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले तीनधारे झरना काभ्रे जिल्लाकै सम्पत्तिका रुपमा रहेकाले यस क्षेत्रको अझ थप विकास गर्न सबै राजनीतिक दल र सामाजिक व्यक्तित्वहरु हातेमालो गर्नुपर्ने बताए । उनले झरना क्षेत्रमा जिपलाइन सञ्चालन गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको उल्लेख गरे ।

दाप्चादेखि फलामेसाँघु र फलामेसाँघुदेखि काफलडाँडा तीनधारे झरनासम्म गरी दुई खण्डमा पक्की सडक निर्माणका लागि आफूले पहल गर्ने उनले जानकारी दिए बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले पर्यटकीय दृष्टिकोणले प्राकृतिक सुन्दरता र कृषिका लागि महत्वपूर्ण क्षेत्र रहेकाले तीनधारे झरनाको विकासको लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

झरना जाने सिंढीहरु निर्माण, रेलिङलगायत पक्की सडक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै काफलडाँडामा स्थानीयवासीले घरबास पर्यटन (होमस्टे) समेत सञ्चालनमा ल्याएको छ भने स्थानीय बासिन्दाले त्यही उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गरेर आम्दानीसमेत लिँदै आएका छन् ।

गाउँपालिकाले पनि झरनाको विकाससँगै नागरिकको जीवनस्तरमा सुधार ल्याउन वडा नंं २ को आयोजना तथा गाउँपालिकाको समन्वयमा ‘मनमोहक एवं प्रसिद्ध पर्यटकीयस्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम’ आयोजना गरी विकास प्रवद्र्धनमा जोड दिएको छ । २०२८ सालमा तत्कालीन नेपाल पर्यटन विभागमा सूचीकृत भएको झरना यसअघि ओझेलमा थियो । कोरोना कहरको बीचमा मानिसहरु घुम्न जाने गरेपछि एकाएक चर्चामा आएको हो । रासस

प्रतिक्रिया