शुक्रबार, जेठ ४, २०८१

एकमहिने गुँला पर्व सम्पन्न

नेपालखोज २०८० भदौ ३० गते १६:३३

भक्तपुर । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ ।

विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । गत साउन ३२ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी सम्पन्न आज भएको हो ।

बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्लो वर्षमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतीकर्मी रामशेखर शाक्यले बताए ।

हरेक दिन दुईदेखि तीन सय धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाएको उनले बताए ।

यस पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म व्रर्तालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको शाक्यले जानकारी दिए ।

दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोचारण गरेर मठ, मन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्व भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर, मध्यपुरथिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ ।

उनका अनुसार पर्वमा स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ ।

प्रतिक्रिया