शुक्रबार, जेठ ४, २०८१

‘तीज : विकृति न्यूनीकरण गर्नुपर्छ’

नेपालखोज २०८० भदौ ३० गते १९:५८

टीकापुर(कैलाली) । हरितालिका तीज नजिकिएपछि तीज मिलन कार्यक्रम भइरहेका छन् । महिलासँग सम्बन्धित सङ्घसंस्थाले तीजको अवसरमा विभिन्न कार्यक्रम गर्न थालेका छन् । यस वर्षको तीजपर्व असोज १ गते मनाइने भएको छ । तीज नजिकिएपछि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय टीकापुरले तीज मिलन कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने वक्ताले तीज पर्वका अवसरमा पर्व मनाउने बहानामा समाजमा देखिएको विकृति न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

महिलाले दर खाने र तीज मनाउने परम्परा गलत बन्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले विगतमा व्रत बस्दा शिव भगवान्को आराधना गरी मनाइने पर्व आजभोलि बदलिएको बताए । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले नागरिकले अवलम्बन गरेको संस्कृति समाजअनुसार परिस्कृत हुँदै गएको र परिस्कृति हुनु सकारात्मक भए पनि संस्कृति भुल्न नहुने बताए ।

प्राध्यापक कलावती स्वाँरले समाजमा तीजका नाममा देखिएको विकृतिले डर लागिरहेको बताउनुभयो । स्वाँरले सामाजिक सञ्जालमा देखिएका दर खाने र तीज मनाउने परम्परा गलत भएकाले महिला सचेत हुनुपर्नेमा जोड दिए । समाजसेवी राधा रावलले तीजमा बुहारी माइत जाने, छोरी घर आउने हुनाले उमेर पाको भएका बुवाआमा छोरीका लागि दर जुटाउन व्यस्त रहने यो समयले आत्मीयता र सौहार्दता बढाउनुपर्ने बताए ।

प्रतिक्रिया