शुक्रबार, जेठ ४, २०८१

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै

नेपालखोज २०८० भदौ ३० गते २१:४०

खजुरा । बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजङ्ग शाहले बताए । उनका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको हो । अस्पतालले उपचारका लागि आएका बिरामीमध्येबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छ ।

साप्ताहिकरूपमा पठाउने गरिएको नमूनामा इन्फ्लुएन्जा देखिएको अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिनुभयो । इन्फ्लुएन्जाको सङ्क्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिन्छन् । पछिल्लो एक सातादेखि इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामी बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ ।

परिवारको एक सदस्यबाट अरूमा, विद्यालय र होस्टलका विद्यार्थीमा एक–अर्कामा सर्ने जोखिम अत्यधिक हुन्छ । चिकित्सकका अनुसार यस समयमा भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ । अस्पतालमा अहिले दैनिक रुघाखोकीका बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डे बताउँछन् । उनका अनुसार समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ ।

भेरी अस्पतालको बहिरङ्ग सेवामा जाँच गराउन आउनेमध्ये दैनिक ३०–३५ जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यसमध्ये अधिकांशमा इन्फ्लुएन्जा पुष्टि हुने गरेको छ । चिकित्सकका अनुसार इन्फ्लुएन्जा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । नेपालमा भने इन्फ्लुएन्जाका विभिन्न प्रकारमध्ये ए र बी बढी देखिने गरेको चिकित्सक बताउँछन् । फ्लूका कारण अचानक ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छन् । त्यस्तै आँखाको नानी, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, श्वासप्रश्वासमा समस्या देखिने, बालबालिकामा पखाला लाग्नेजस्ता लक्षण देखिन्छ ।

फ्लू सङ्क्रमण हुँदा सुरुमा रुघा लाग्ने तथा भाइरसको सङ्क्रमण कडा बन्दै जाँदा श्वासप्रश्वासमा समस्या निम्तिएर मानिसको मृत्यु पनि हुन्छ । फ्लूका लक्षण सामान्यतया सात दिनसम्म रहने र विस्तारै हराउँदै जाने चिकित्सक बताउँछन् । डा. पाण्डेका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, कुपोषित बालबालिका, नियमित औषधि सेवन गर्ने मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरामीलाई फ्लूले बढी असर गर्छ । विभिन्न किसिमका भाइरल सङ्क्रमणबाट जोगिन इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन उचित हुने उनको सुझाव छ । इन्फ्लुएन्जाविरुद्धको खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ ।

प्रतिक्रिया