सोमबार, फागुन १४, २०८०

धुलिखेल दक्षिण एशियाली ‘हेल्दी सिटी’को सदस्य बन्दै

नेपालखोज २०८० असोज ४ गते ६:३१

काभ्रेपलाञ्चोक । पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम छ । सदस्यता ग्रहण गरेसँगै दक्षिणपूर्वी एशियाली विश्व स्वास्थ्य सङ्गठनको ‘स्वस्थ सहर सञ्जाल’को सात सहरमध्ये धुलिखेल पनि एक सदस्य हुनेछ ।

नगरपालिकाले सबै मापदण्ड पूरा गरेकाले सङ्गठनले सदस्यता प्रदान गर्ने तयारी भएको जनाइएको छ । सदस्यता प्रदान गर्ने मिति तय भएपछि ग्रहण गर्न जाने तयारी गरिने नगर स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्य (एस्डिजी) अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीका चार लक्ष्य पूरा गरेर स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो ।

नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्र सङ्घमा पेस गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एशियामै धुलिखेल पहिलो नगर भएको जिकिरसमेत गरिएको थियो । नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाइ आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने कामसमेत गरेको जनाइएको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो ।

केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ । हाल हाईपरटेष्सन, मधुमेय र मानसिक स्वास्थ्य कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि बढाइएको प्रमुख केसीले बताए । धुलिखेल विश्व स्मार्ट दीगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो । विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दीगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो ।

नगरप्रमुख अशोक ब्याञ्जूले संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु गौरवको विषय भएको बताउनुहभयो । यस्तै यस नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको योजनासमेत बनाएको थियो ।

यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दीगोरुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको उनले बताए । उक्त कार्यक्रमबाट वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दीगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुनाका साथै केही हदसम्म बेरोजगारी घट्ने र स्थानीय स्रोतको पहिचान तथा उपयोग गर्न सकिने जनाइएको छ । नगर प्रमुख ब्याञ्जूका अनुसार नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याएको छ ।

जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दीगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएकोे छ ।

नगरपालिकाले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलो साता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो ।

नगरपालिकाले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरेकामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइलाको प्रयोग रोक्ने घोषणासमेत गरेका थिए । खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीयवासी सबैका घरमा प्रयोग भएका फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ ।

नगर प्रमुख ब्याञ्जूका अनुसार नगरक्षेत्रभित्र एक वर्षदेखि कोइला प्रयोग पूर्णरुपमा प्रतिबन्ध छ । उक्त सन्धिअन्तर्गत रहेर नगरपालिकाले आफ्नो क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दीगो विकास र स्वस्थ तथा सफा वाताबरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया