शनिबार, जेठ ५, २०८१

साफ यू-१९ च्याम्पियनसिप- भारतको विजयी सुरुवात

नेपालखोज २०८० असोज ४ गते १६:१८

काठमाडौं । भारतले साफ यू-१९ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गरेको हो। भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन्।

भारतले खेलको पहिलो मिनेट मै अग्रता लिएको थियो । गुग्मसार गोयारीले दाया फ्ल्यान्कबाट आएको क्रसलाई नियन्त्रणमा लिएर सहजै गोल गरेका थिए। पहिलो मिनेटमै गोल खान पुगेको बंगलादेशले भने त्यस्पछि बल पोसेसन राख्दै अवसरहरु सिर्जना गर्यो।

नवौ मिनेटमा बंगलादेश बराबरी गर्नको निकै नजिक पुगेको थियो । मोइनुल इस्लामको बक्स बाहिरबाट लिएको सट भारतका गोलकिपर लियोनेल रिम्मेटले सुन्दर बचाऊ गर्दा बल पोस्टमा लाग्न पुग्यो । ४०औ मिनेटमा राजु अहमदको प्रहार पनि क्रसबारमा लागेर फर्किएको थियो।

बंगलादेश बराबरीको नजिक आइरहदा उता भारतले भने पहिलो हाफको अन्तिम समयमा अर्को गोल गर्यो। नाओबा पंगमबमले बंगलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिश गर्दा भारत पहिलो हाफमा २-० ले अघि थियो।

पहिलो गोल खाएपछि सोधरिएको प्रदर्शन गरेको बंगलादेशलाई दोस्रो गोल खाएपछि भने खेलमा स्पष्ट अवसरहरू सृजना गर्न सफल रह्यो र खेलमा फर्किन सकेन।

भारतले भने खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामले खेलको ९० औं मिनेटमा तेस्रो गोल गरेका थिए। जितसँगै भारतले समूह बी मा तीन अंक जोड्न सफल भएको छ। समूह बी मा भारत र बंगलादेश बाहेक भुटान रहेको छ।

प्रतियोगिताको दोस्रो खेलमा आज साँझ ५ः३० बजे घरेलु टोली नेपालले पाकिस्तानको सामना गर्दै छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

प्रतिक्रिया