शुक्रबार, जेठ ४, २०८१

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

नेपालखोज २०८० असोज ७ गते ७:०८

काठमाडौं । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले ।

विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरुआत गर्यो ।

देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ । सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए ।

उनको निर्देशनमा तयार हुने आगामी चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशका प्रायः देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन्, आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् ।

यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । यद्यपि कलात्मक र पूर्ण व्यावसायिक भनेर दुई विधामा चलचित्रलाई प्रस्तुत गर्ने गरिएको छ ।

प्रतिक्रिया