बुधबार, फागुन ९, २०८०

नेपालमा कोका-कोला

सुनिल उलक २०८० असोज ७ गते १२:०९

बोलीचालीले कोक भनिने कोका-कोला विश्व बजारमा १३७ वर्ष अगाडि शुरु भएको थियो । सन १८८६ मइ ८ तारिखका दिन डा. जोन पेम्बर्टनले आफ्नो औषधी पसल जाकोव्स फार्मेसीमा पहिलो पटक कोका-कोलाको स्वाद चखाएका थिए । उनले आफ्नो प्रयोगशालामा एक प्रकारको सिरप बनाए ।

उनले एक जग सिरप बनाए पछि आफ्नो फार्मेसी अगाडि बाटोमा हिडिरहेका मानिसहरुलाई चखाए । सबैबाट प्रशंसा पाए पछि भोलिपल्ट देखि उनले प्रति गिलास ५ सेन्टमा बिक्री थाले । यसको नाम भने राखिएको थिएन । पछि डा. पेम्बर्टनले साथी फ्रांक रविन्सनसंग दुइवटा सि अक्षरबाट कुनै राम्रो नाम रोज्ने सुझाए ।

त्यसपछि नाम राखियो ???? ???? । नाम रोजिए पछि रविन्सनले आफ्नै हातबाट सुन्दर अक्षर लेखे । यो नाम र यो लेखाइ नै यसको वास्तविक पहिचान भयो । संसार भर कोका-कोला एउटै प्रकारले लेखिन्छ । अक्षरको लेखाइमा भिन्नता हुदैन । वास्तवमा यो रविन्सनको हातको लेखाइको नमुना हो ।

यसरी शुरुमा ९ गिलास प्रत्येक दिनबाट बिक्री शुरु भएको कोका-कोला विश्वको हरेक उमेर तथा समुहका लागि प्रिय पेय भएको छ । यसको बिक्रीका लागि शुरुमा साधारण बोटलको प्रयोग गरिए पनि सन १९०० मा आइपुग्दा यसको बोटलको डिजाइन बिशेष रुपले गर्न थालियो ।

किनकी त्यसबेला सम्म अमेरिकाको प्रत्येक शहरमा यसको बिक्री शुरु भइसकेको थियो । र सबैको प्रिय भइसकेको थियो । सन १९१५ को अप्रिल २६ मा कोका-कोला कम्पनीले १० प्रमुख बोटल बनाउने कम्पनीहरुलाई उत्कृष्ट बोटलको डिजाइन गर्न र छाँटिएको डिजाइनकर्तालाई ५०० डलरको पुरस्कार राखियो । यसपछि बिभिन्न डिजाइनहरु संकलन गरिए ।

अन्तमा इन्डियाना प्रान्तमा रहेको रुट ग्लास कम्पनीले बनाएको डिजाइन रोजियो । हालसम्म पनि यहि बोटल नै प्रयोग भइरहको छ । यो बोटलको आकारलाई केहीले महिलाको शरिरको आकारसंग पनि तुलना गर्ने गर्दछन । महिलाको ३६-२४-३६ को मापनलाई नै यस बोटलका लागि प्रयोग गरेको भनिन्छ । तर कम्पनीले यसलाई स्विकार गरेको छैन ।

यसरी विश्व बजारमा सर्वप्रिय भएको पेय पदार्थ भारतमा भने निकै ढिलो आइपुग्यो । सन १८९६ देखि नै कोका-कोला बिक्री हुँदै आइरहेको भारतीय बजारमा सन १९५६ मा मात्रै आफ्नै उत्पादन भारतमा शुरु भयो । भारत स्वतन्त्र भए पछि विश्व बजारलाई आकर्षित गर्ने नीति अनुरुप कोका-कोलाले पनि प्रवेश पाएको थियो । तर सन १९७४ मा भारतीय नीतिमा परिवर्तन ल्याए पछि कोका-कोला कम्पनीले ४० प्रतिशत शेयर भारतीयका लागि बेच्नु पर्ने भयो ।

यो शर्त मान्न कोका-कोला कम्पनी तैयार भयो तर सम्पूर्ण उत्पादन तथा प्रशासनिक अधिकार आफैमा राख्न चाह्यो । जसका लागि भारत सरकार तैयार भएन । यसै समय सरकार परिवर्तन भएर सन १९७७ मा जनता पार्टीको सरकार बन्यो । नीतिमा कुनै परिवर्तन भएन ।

कांग्रेस आइको नीतिमा जनता पार्टीको नयाँ सरकारले पनि समान निर्णय कायम राख्यो । जसले गर्दा भारत सरकारका तर्फबाट कोका-कोलालाई अन्तिम चेतावनी दिइयो । या त भारत छोडेर जानु या भारत सरकारका नीति अनुरुप रहनु । कोका-कोलाले आफ्नो अधिकार छोडेन बरु भारत नै छोडेर गयो । पछि सन १९९३ मा भारतीय नीति नियमहरु स्विकार गर्दै पून: भारतमा कोकाकोला फर्केर आयो ।

यहि समय नेपालले पनि कोका-कोला बोटलमा भारतबाट नै मगाएर बिक्री गर्दै आइरहेको थियो । नेपालमा खेतान समुहले २०२६ सालदेखि नै कोका-कोला बिक्री गर्दै आइरहेको थियो । त्यतिबेला १ बोटलको १ रुपैया परेको थियो ।

खेतान समुहले भारतबाट १५०००० बोटल कोका-कोला मगाएर बेचिसकेको थियो । साथै नेपालका ब्यापारी खेतान समुहका मोहनगोपाल खेतानले राजपरिवारका सदस्य हेलेन शाहको सहयोगमा नेपालमा कोका-कोलाको उत्पादन गर्ने इजाजत पनि नेपाल सरकारबाट लिइसकेका थिए ।

भारतबाट कोका-कोला बाहिरिने भए पछि दक्षिण एशियामा उत्पादन केन्द्र खोज्दै थियो । यहि समय भारतीय ब्यापारी नकुल डी कमानी अप्रत्यक्ष रुपमा कोका-कोला नेपालमा उत्पादनका लागि सहयोग गर्न अगाडि आए । उनको सहयोगमा दिल्लीमा कोका-कोला कम्पनीले बन्द गरेको उद्योगमा रहेको मशिनहरु सस्तोमा नेपालमा रहेको बोटलर्स नेपालले खरिद गरेर २०३६ सालबाट नेपालमा कोका-कोलाको उत्पादन शुरु भयो ।

शुरुमा कोका-कोलाको मुल्य प्रति बोटल १.४० रहेको थियो । नेपालमा कोका-कोला उत्पादन शुरु भएको केही समयमा नै भारत सरकारको दवामा नेपालमा उत्पादित कोका-कोला भारत लगायत दक्षिण एशियामा निर्यातमा प्रतिवन्ध लाग्यो । घुमाउरो बाटोबाट कोका-कोला भारत प्रवेश गर्न चाहेको थियो तर त्यो हुन दिइएन । पछि २०४१ सालमा नेपाल सरकारले भारत बाहेक अन्य मुलुक माथिको निर्यात प्रतिवन्ध फुकुवा गर्यो तर भारत माथिको प्रतिवन्ध भने यथावत नै रह्यो ।

बोटलर्स नेपालले आफ्नो उत्पादन प्लान्ट बालाजु औद्योगिक क्षेत्रमा राखेको थियो । यहाँको उद्योगको क्षमता ८० बोटल प्रति मिनेट थियो । लगानी पनि केवल १ करोड नेपाली रुपैया मात्र थियो । कोका-कोलाको डिलर मुल्य पनि निकै नाफामुलक थियो । २४ बोटलको २५ मा खरिद गरेर प्रति बोटल १.४० मा बिक्री गर्दा एक तिहाइ नै नाफा हुन्थ्यो । जसले गर्दा कोका-कोला बेच्न ब्यापारी हौसिन थाले । यसले बिक्री सोचे भन्दा बढी भयो ।

बालाजु उद्योगको सफलता पछि तराइ क्षेत्रमा सहज आपुर्तिका लागि बोटलर्स नेपाल (तराइ) लिमिटेडका रुपमा भरतपुरमा दोश्रो उद्योग स्थापना गरेको थियो । दुबै उत्पादन उद्योग शुरु देखि नै नाफामा चलिरहेको छ । स्वास्थ्यको दृष्टिकोणले कोका-कोलाका उत्पादनहरु पिउनु सहि या गलत आफ्नो ठाउँमा होला । तर उद्योगको हिसाबले भने सफल रहेको छ ।

प्रतिक्रिया