मंगलबार, फागुन १५, २०८०

संसारका उत्कृष्ट होटल

नेपालखोज २०८० असोज ७ गते १३:०८

लन्डन स्थिति संस्था ‘फिप्टी बेष्ट अर्गानाइजेसन्स’ ले संसारका सबैभन्दा राम्रा ५० होटलको सूची घोषणा गरेको छ । यो सूची ५८० विश्व पर्यटकको गोप्य मतदानबाट तयार गरिएको हो । उत्कृष्ट ५० भित्र १८ वटा होटल एशियाली देशका छन् ।

यो सूचीको पहिलो स्थानमा इटालीको पासालाक्वा भिल्ला छ । यो होटल अठारौं शताब्दिका इटालियन ‘मेलोडी किङ’ भिन्सेन्जो बेलिनोको घरको ‘रेट्रोफिटिङ’ हो । यो मोल्ट्रासियो नगरपालिकाको कोमो ताल किनारमा अवस्थित छ । यो होटलमा एक रात बिताउन न्यूनतम् १३ सय डलर खर्च लाग्छ ।

हङकङको ‘रोजउड हङकङ’ दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा  थाइल्याण्डको फोर सिजन बैंकक छ । यसै गरी हङकङको द अपर हाउस चौथो स्थानमा छ ।

दक्षिण एशियाबाट सबैभन्दा धेरै मालदिभ्सबाट २ वटा होटल यो सूचीमा सुचिकृत छन् जसमा सोनेभा फुसी ७ औं तथा सोनेभा जानी ३६ औं नम्बरमा छन् । श्रीलंकाको होटल अमन गाला ३८ औं नम्बरमा छ भने भारतबाट द ओबरोय अमरभिलास ४५ औं नम्बरमा छ ।

सिंगापुरका राफेल्स सिंगापुर र चापेल सिंगापुर १७ औं तथा २८ औं स्थानमा छन् । थाइल्याण्डको म्यानरिन बैंकक १० औं, चापेल बैंकक ११ औ र द सियाम ४२ औं स्थानमा छन् । पहिलो स्थानको पासालाक्वासँगै इटालीका ५ होटल फोर सिजन फायरन्जे ९ औं, अमन भेनिस १४ औं, ले सेरिनस २० औं बोर्गो इन्जाजियो २१ औं स्थानमा छन्।

अमेरिकाका दुईवटा होटल यो सूचीमा छन् । यूरोपेली देशका २२ वटा होटल ‘टप फिप्टी’ भित्र सूचीकृत छन् । सबैभन्दा धेरै फ्रान्सका ६ वटा होटल यो सचिमा छन् । अफ्रिकी महादेशबाट दक्षिण अफ्रिकाको सिंगिता लज १५ औं स्थानमा छ ।

शहरका दृष्टिकोणले पेरिस, लन्डन र बैंककका ४-४ होटल यो सुचिमा छन् भने अष्ट्रेलियाबाट एक मात्र द क्यालिले १२ औं स्थानमा छ ।

प्रतिक्रिया