शनिबार, वैशाख २२, २०८१

१९औं एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित

नेपालखोज २०८० असोज ८ गते २०:५३

हाङझाउ । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो । जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो ।

समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो । जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको १३औं मिनेटमा जापानले दोस्रो गोल गरेको थियो । यस्तै खेलको २७औं मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन् ।

यस्तै खेलको ३०औं मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन् । खेलको ३६ औं मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५–० गोलको फराकिलो अग्रता दिलाइन् । जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो ।

खेलको ५८ औं मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँँ गोल गरिन् । यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ७–० गोलको अवस्थामा पुर्याइन । यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८–० गोलअन्तरको जित दिलाइन् । जापानले पहिलो खेलमा बंगलादेशलाई पनि ८–० गोलअन्तरले पराजित गरेको थियो ।

यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो। नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो ।

समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। लगातार दोस्रो जितपछि जापान ६ अंक जोडेर समूह डी को शीर्ष स्थानमा छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

प्रतिक्रिया