शनिबार, वैशाख २२, २०८१

१९औं एसियाली खेलकुद : जुडो र रग्बीमा नेपालको यात्रा समाप्त

नेपालखोज २०८० असोज ९ गते २१:०३

हाङझाउ । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । आज नेपालका दुई खेलाडी पराजित भएसँगै जुडोमा नेपालको यात्रा समाप्त भएको हो । पुरूष एक सय किलोमाथिको तौल समूहमा नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वाटरफाइनलमा काजकिस्तानका खेलाडीले पराजित गरे । यस्तै महिला ७८ किलोमाथिको तौल समूहमा नेपालकी आकृति जोशी उज्वेकिस्तानकी खेलाडीसित इप्पोनकै आधारमा पराजित भइन् ।

जुडोमा नेपालबाट पुरूषतर्फ चार तथा महिलातर्फ चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरूषतर्फ विकास विक, जंगबहादुर सारू र इन्द्रबहादुर श्रेष्ठ तथा महिलातर्फ मनीता श्रेष्ठ, देवकीमाया श्रेष्ठ र पुनम श्रेष्ठ यसअघि नै पराजित भइसकेका छन् । चीनमा जारी १९औं एसियाली खेलकुदमा रग्बीमा डेब्यु गरेको नेपाल सबै खेलमा पराजित भएको छ । रग्बी सेभेन्समा नेपालको पुरुष टोली सबै खेलमा पराजित भयो ।

आज भएको खेलमा नेपाल ओसिए इन्डिपेन्डेन्ट एथ्लेटिक टोलीसित ६८–० अंकले पराजित भएको हो । प्रतियोगितामा नेपाल आफ्ना सबै ६ खेलमा पराजित भयो । समूह डी मा रहेको नेपाल समूह चरणमा युएई, चीन, अफगानिस्तान, थाइल्याण्ड र फिलिपिन्ससित पराजित भएको थियो । यसैगरी तेक्वान्दोमा पनि प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी आ-आफ्नो स्पर्धामा पराजित भए ।

नेपालका गोविन्दबहादुर आले पुरूष ६३ किलोमुनिको तौल समूहमा प्रिक्वाटरफाइनलमा पराजित भए । उनी प्रिक्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीसित २–० अंकले पराजित भए । यस्तै आजै भएको महिला ५३ किलोमुनिको तौल समूहमा नेपालकी आयषा लामा दक्षिण कोरियाका खेलाडीसित पराजित भइन् । महिला ५७ किलोमुनिको तौल समूहमा सन्ध्याकुमारी सिंह पनि पराजित भइन् । तेक्वान्दोका चार खेलाडी यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए ।

प्रतिक्रिया