बिहीबार, मंसिर २१, २०८०

किन भनिन्छ नेपाललाई सतीले सरापेको देश ?

सुनिल उलक २०८० असोज १० गते १३:१५

एक समय मदनकृष्ण श्रेष्ठको एउटा नेवाः गीत निकै प्रचलित थियो, ‘मरु गणे द्य या देय् गः ले गजु मरु’ ।

मरु गणे द्य या देय् गः ले गजु मरु
जि छम्ह स्या आःतक न कला मरु

मरु गणेशको मन्दिरमा गजूर छैन
म एकजनाको आजसम्म श्रीमती छैन ।

त्यसबेला मदनकृष्ण हास्य कलाकारका रुपमा त्यति प्रख्यात भइसकेका थिएनन् । त्यसैबेला हास्य गीत ‘लाः छकु वयका समय वजी’ गीत पनि प्रख्यात भइसकेको थियो ।

नेवारी भाषामा मरु गणेः द्य भनिए पनि नेपालीमा भने अशोक विनायक भन्ने गरिन्छ । उपत्यकामा रहेका चार विनायक मध्य एक अशोक विनायकको महत्व अलग्गै रहेको छ । यस मन्दिर निर्माणको कथा पनि अलि भिन्न छ । यस मन्दिर रहेको ठाउँमा बिशाल अशोकको रुख थियो ।

एक रात अशोकको रुखबाट उज्यालो आए पछि हेर्न जाँदा गणेश भगवान बसिरहेको देखे । तर गणेश एकैछिनमा अलप भए पछि भोलिपल्ट यो कुरा राजा सम्म पुग्यो । तत्कालिन राजा लक्ष्मी नरसिंह मल्लले त्यसै अशोकको रुखको तल गणेशको मन्दिर निर्माण गर्न लगाएको भन्ने गरिन्छ ।

मन्दिर निर्माण सम्पन्न भए पछि गजूर राख्नु अघिल्लो रात एक कामदारलाई सपनामा गजूर नराख्न भनेका थिए । तर उनले सबै साथीहरुलाई सुनाए पछि सपनामा बिश्वास नगरेर गजूर हाल्न लागे ।

त्यसै दिन ति कामदारको मृत्यु भयो र लगाइसकेको गजूर छानो सहित भत्कियो । त्यस पछि अन्य कामदारले सपना माथि विश्वास गर्दै गजूर बिनाको मन्दिर निर्माण पुरा गरे । मन्दिर निर्माण पुरा भए पछि मन्दिर संगै सत्तल पनि बनाइयो । जसलाई मरु सत्तका नामले चिन्न थालियो ।

राजा लक्ष्मी नरसिंहले अशोक विनायकको निर्माण गराए पनि गणेशको कृपा भने उनमा रहेन । दरवारियाको कुरा सुनेर उनले भोटको कुटी बिजय अभियानमा गएका आफ्नै बहिनी ज्वाइ भीम मल्लको दरवारमा प्रवेशको समय काट्न आदेश दिए पछि विधवा बनेका बहिनीले दाजु राजा लक्ष्मी नरसिंहले सुन्ने गरेर श्राप दिएका थिइन्, येँ लायकु (काठमाडौं दरवार) मा भलो चाहने सबैको यस्तै गति होस ।

यहि श्रापलाई नै नेपालमा सतीले सरापेको देशका रुपमा लिने गरिन्छ । ज्वाइको हत्या र बहिनीको श्राप पछि वास्तविकता थाहा पाएका राजा लक्ष्मी नरसिंह मल्ल बिक्षिप्त बने । यसरी बौलाहा बने पछि छोरा प्रताप मल्लले आफ्नै बाबु राजा लक्ष्मी नरसिंह मल्ललाई कैदमा राखेर आफू राजा बने । बुढो राजा लक्ष्मी नरसिंह मल्लको बौलाहा रुपमा जेलमा १८ वर्ष लामो कष्टकर जीवन बिताएर अन्तमा देहान्त भयो ।

६२ वर्क्ष अगाडिको यस तस्विरमा यहि मरु सत्त र मरु गणे द्यगः देख्न सकिन्छ । साथमा सडक किनारको ब्यबसाय पनि देख्न सकिन्छ । उपत्यकामा सडक छेउ ब्यबसायको शुरुवात बाह्रद्य शताव्दीमा हालको असनमा शुरु भएको मान्ने गरिन्छ ।

प्रतिक्रिया