शनिबार, जेठ ५, २०८१

नेपालले माल्दिभ्सविरुद्ध टस जित्यो

नेपालखोज २०८० असोज १४ गते ६:४२

हाङ्गचौं । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलेको छ । दुई प्रतियोगिता जुधेपछि एसियाडको लागि दोस्रो रोजाईको टोली पठाएकोछ ।

माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । यस खेलको विजेता टोली क्वाटरफाइनलमा स्थान बनाउनेछ । नेपालको लक्ष्य माल्दिभ्सविरुद्ध पनि रनको वर्षा नै हुनेछ ।

विश्व वरियतामा टि२० आईमा माल्दिभ्स ७८ औं र नेपाल १६ औं स्थानमा छ । त्यसमा पनि माल्दिभ्सको दोस्रो रोजाईको टोली छ । माल्दिभ्स र नेपालबीच हालसम्म दुई टि२० आई खेल भएको छ । २०१९ को १३ औं एसियाली खेलकुदमा टियु क्रिकेट मैदानमा माल्दिभ्स नेपालसँग ५ विकेट र ८४ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रतिक्रिया