मंगलबार, वैशाख २५, २०८१

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको आवेदन असोज २८ सम्म

नेपालखोज २०८० असोज १४ गते १२:२३

काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आवेदन असोज २८ गतेसम्म खुल्ला गरेको जनाएको छ ।

राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) तथा विश्व विज्ञान दिवस (कात्र्तिक २४) को सन्दर्भ पारेर उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

विद्यालय तहको कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लक्षित चित्रकला तथा वक्तृत्वकला प्रतियोगितामा ईच्छुक विद्यार्थीले नासोको वेभसाइटमार्फत् आवेदन दर्ता गर्न सक्ने उनले बताए ।

भट्टराईका अनुसार एघारौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सह–आयोजनामा सञ्चालन गरिने यस वर्षको प्रतियोगितामा कुनै दर्ता शुल्क लाग्ने छैन ।

यस वर्षको प्रतियोगिताको शीर्षक ‘अन्तरिक्ष र उद्यमशीलता’ रहेको उनले जानकारी दिए । सातौँ राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशस् गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाँचौँ राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्ने नासोले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशस् नगद १० हजार, पाँच हजार र तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने भएको अध्यक्ष भट्टराईले बताए । दुवै प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया