आइतबार, जेठ ६, २०८१

चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ

नेपालखोज २०८० असोज १७ गते १८:५७

जानकी (बाँके) । बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । राप्तिसोनारी–२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् ।

उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले आज जानकारी दिए ।

उनका अनुसार जैसीलाई निकुञ्जभित्रको सुखार र खैरी खोलाको ‘फायर लाइन’बाट चित्तलको मासु भाग लगाउँदै गर्दा पक्राउ गरिएको हो । उनीसँगै रहेका मदनबहादुर खत्री भने फरार रहेका छन् ।

निकुञ्जभित्रको हिरासतमा जैसीमाथि थप अनुसन्धान भइरहेको उल्लेख गर्दै भुसालले बताए, ‘वन्यजन्तु चोरी शिकारी आरोपमा टीकारामलाई चित्तलको मासु भाग लगाउँदै गर्दा हाम्रो गस्ती टोलीले पक्राउ गरेको हो । ४५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले हामी अनुसन्धानकै क्रममा छौँ ।’

फरार रहेका मदनबहादुर खत्रीको खोजी जारी रहेको उनले बताए । ‘वन्यजन्तु चोरी शिकारी आरोपमा कसैलाई उम्कने छुट छैन । नेपालमै लुकेर बसे पनि अथवा नेपाल बाहिर जहाँसुकै गए पनि फरार रहेका मदनबहादुरको खोजी जारी नै भएको हुँदा उनलाई चाँडै नै पक्राउ गर्ने छौँ,’ उनले भने ।

गत वर्षको स्थानीय निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडाध्यक्षमा निर्वाचनमा भाग लिएका मदनबहादुरको नाम पटकपटक वन्यजन्तु चोरी शिकारीको आरोपमा मुछिँदै आएको थियो ।

प्रतिक्रिया