आइतबार, जेठ ६, २०८१

गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो

नेपालखोज २०८० असोज २४ गते १२:४३

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।

अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

‘प्रहरीले हत्या आरोपमा एकजना सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियों, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले भने ।

बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका उनले बताए । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको प्रहरी उपरीक्षक ढुङ्गेलले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले प्रतिवेदन आइपुगेको र कार्यालयले अध्ययन गरिरहेको जानकारी दिए । अध्ययनपछि अभियोजन दर्ता हुने उनको भनाइ थियो

आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको पनि हत्या गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो ।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौं महानगरपालिका–३२ तीनकुने नजिक गैरीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

प्रतिक्रिया