सोमबार, जेठ ७, २०८१

मंगोलियामा १०औं अवतारी ‘लामा’ को घोषणा, चिनियाँ र अमेरिकी स्वार्थको टकराव

नेपालखोज २०८० असोज २५ गते १८:२४

७० वर्षसम्म कम्युनिस्ट शासनमा रहेको र सन् १९९० मा लोकतन्त्र पुनः बहाल भएको देश मंगोलियामा अहिले एक नयाँ अवतारी बालकको उदय भएको छ। पुनर्जन्ममा गहिरो विश्वास भएको तिब्बतियन बौद्ध परम्पराको व्यापक प्रभाव भएको मंगोलियाको राजधानी उलानबाटरको भव्य गान्दन बौद्ध गुम्बामा एक ८ वर्षीय बालक ए. अल्टान्नरलाई १०औं बज्ड (दलाई लामाजस्तै मुख्य धर्मगुरु) को रुपमा स्थापित गरिएको छ।

मंगोलियन बौद्ध परम्परामा मूल धार्मिक नेतालाई ‘बज्ड’ भनिन्छ। बज्डका ९औं अवतारीको ७९ वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो। उहाँ मंगोलियामा जन्मिनुभएको थिएन ।

सन् १९९० को लोकतान्त्रिक युग सुरु भएपछि हाल भारतमा निर्वासनमा रहेका तिब्बतियन मुख्य धर्मगुरु दलाई लामाबाट छानिएर सन् २०११ मा उलानबाटरको गान्दन गुम्बामा पठाइनुभएको थियो। उहाँको छनौट भने सन् १९३६ मा नै दलाई लामाले ४ वर्षको उमेरमा ल्हासामा घोषणा गर्नुभएको थियो र उहाँ लामासँगै निर्वासनमा हुनुहुन्थ्यो।

हाल मंगोलियामा आधाभन्दा बढी जनसंख्या बौद्ध धर्मका अनुयायी छन्। कम्युनिस्ट शासन सुरु भएपछि धार्मिक अवतारी परम्परालाई निषेध गरिएको थियो। तर अहिले आएर १०औं अवतारीका रुपमा मंगोलियाका एक समृद्ध व्यापारिक परिवारमा जन्मिएका बालकलाई छनौट गरिएको छ। यो घटनाले मंगोलिया यतिबेला दलाई लामा र चीनको आपसी द्वन्द्वको चपेटामा तानिएको छ।

१०औं अवतारी बज्डको छनौटको घोषणा भने गत मार्चमा दलाई लामाले भारतको धर्मशालाबाट गर्नुभएको थियो। मंलोलियाका तत्कालीन सम्राट कुबलाय खाँले सुरु गरेको ‘आध्यात्मिक शासक’ को यो परम्परा ४ सय वर्षसम्म निरन्तर चलेको थियो। हाल घोषित अवतारीको छनौट सन् २०१४ र २०१५ मा मंगोलियामा जन्मिएका ८० हजार बालकहरूमध्येबाट सांस्कृतिक र धार्मिक गुरुहरूको अनेक परीक्षणबाट गरिएको र अन्तिम सूचीबाट दलाई लामाले ए.अल्टान्नरको घोषणा गर्नुभएको हो।

मंगोलियामा चीनको छिन शासकहरूले १७औं शताब्दीमा हस्तक्षेप गरेपछि नयाँ अवतारी तिब्बतियन हुनुपर्ने परम्परा सुरु गराएको थियो। तर अहिले आएर सो परम्परा तोडी मंगोलियन बालकहरूबाटै धर्मगुरु छानिएको हो।

यता चिनियाँ कम्युनिस्ट पार्टीले भने यो छनौटमा बाह्य तत्वको संलग्नता रहेको भन्दै गम्भीर चासो प्रकट गरेको बताइएको छ।

अमेरिकामा जन्मिएका नयाँ अवतारी बज्ड भने मंगोलियाको एक धनी परिवारबाट छानिनुभएको हो। उहाँकी हजुरआमा गारमजाभ छेदेन मंगोलियाको एक सफल व्यापारिक प्रतिष्ठान मोनप्लोमेटकी संस्थापक हुनुहुन्छ भने अवतारी छानिएका बालकका बुबा मंगोलियाको नेसनल युनिभर्सिटीमा प्राध्यापनरत  ४३ वर्षीय गणितज्ञ अल्टान्नर छिन्छुलन र आमा व्यापारिक समूहकी प्रमुख मुनखान्सन हुनुहुन्छ।

आफ्नो छोरालाई अवतारी घोषित गरी बौद्ध भिक्षुहरूले गुम्बामा राखी धार्मिक जिम्मेवारीमा स्थापित गर्न खोजेकामा अभिभावकहरू भने खुसी छैनन्। उनीहरूले १८ वर्ष भएपछि ए. अल्टान्नरले जुन बाटो लिन चाहन्छन् त्यो छनौट गर्न दिने सर्तमा मात्र आफ्नो छारोलाई गुम्बा पठाएका हुन्।

नयाँ अवतारी बज्डलाई भारतको धर्मशाला लगी ७९ वर्षीय दलाई लामाबाट गुरुमन्त्र र शिक्षा दिइसकिएको छ। यी अवतारीमा देखिएको आध्यात्मिक लक्षण र विशेषताबाट उहाँ सहजै आध्यात्मिक गुरुको रुपमा स्थापित हुने विश्वास उलानबाटरका धार्मिक गुरु र बौद्ध–प्राज्ञहरूले व्यक्त गरेको न्युयोर्क टाइम्सले आफ्नो लामो रिर्पोटमा उल्लेख गरेको छ।

नयाँ अवतारीको घोषणापछि मंगोलियामा चिनियाँ र अमेरिकी स्वार्थको टकराव पनि देखिएको छ। अमेरिकामा जन्मिएका र स्वतः अमेरिकी नागरिक हुने बालकलाई दलाई लामाले १०औं बज्डको घोषणा गरेर रणनीतिक रूपमा ती अवतारीको सुरक्षामा अमेरिकी चासो सधँै रहने बाटो लिनुभएको छ।

अभिभावक असहमति भएपछि अन्तिम सूचीका ११ जना बालकमध्येबाट अर्को अवतारी घोषणा गर्न भिक्षुहरूले सुझाए पनि दलाई लामाले अस्विकार गर्नुभएको थियो। नयाँ अवतारीमा धनाढ्य र शक्तिशाली परिवारका बालक छनौट गरी शासनमा शक्तिशाली वर्गको वर्चश्व सबल पार्न खोजेको भनी आलोचना पनि भएको छ। तर छनौटकर्ताले बालकमा निहित आश्चर्यजनक आध्यात्मिक लगाव र सहज रूपमा धार्मिक व्यवहार प्रदर्शन गर्ने क्षमताका कारण छनौट गरिएको दाबी गरेका छन्।

तिब्बतियन बौद्ध परम्परा र धार्मिक विश्वासको मूल केन्द्रका रूपमा मंगोलियालाई लिइन्छ। त्यसैले त्यहाँको अवतारी परम्परा पुनः सुचारु भएकामा विश्वभरिका बौद्ध अनुयायीहरूले गौरव गरेको उलानबाटरका धर्मगुरुले बताएका छन्।

मंगोलियाका राष्ट्रपति एल्वर्गदोर्जले समेत बालकका अभिभावकलाई फोन गरी यो छनौट राष्ट्रको एक उल्लेखनीय पद भएकाले सहज रूपमा लिन भनेको बताइएको छ। –INS

प्रतिक्रिया