यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आजदेखि अनलाइन सेवा सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् ।
एकान्तकुना कार्यालयमासेवाग्राहीहरुदैनिकघण्टौं लाममा बस्ने गरेका थिए । आजदेखि लाम पूर्णरुपमा हट्ने मन्त्री ज्वालाले बताए । उनले भने, ‘दैनिक हजारौँ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।’ नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । आजबाट राजस्व भुक्तानी, अनुमतिपत्र नवीकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ ।
अनुमतिपत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुुपर्ने प्रदेशका यातायातमन्त्री लम्सालले बताए । प्रतिबद्धताअनुसार गत असार २० देखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको हो ।
अबको केही दिनभित्र मधेस र लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमार्फत पनि अनलाइन सेवा पुनःसञ्चालन गरिने मन्त्री ज्वालाले बताए । यातायात व्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाको अन्त्य गर्न देशका सबै यातायात व्यवस्था कार्यालय अनलाइन प्रणालीमा लैजान लागिएको उनले बताए ।
प्रतिक्रिया