बिहीबार, असोज २४, २०८१

इजरायलबाट २५३ जना नेपाली विद्यार्थी नेपाल आइपुगे

नेपालखोज २०८० असोज २६ गते ५:४७

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।

उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गर्नुभएका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए । यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएका, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुईजना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए ।

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुट्नुभएका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ ।

परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिइ ऐक्यवद्धता जनाउनुहुने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरु र विमान चालकदलका सदस्यलाई पनि धन्यवाद दिए । आजै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पुर्‍याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीन वटा बसहरु तयारी अवस्थामा राखिएको थियो ।

प्रतिक्रिया