शनिबार, असोज २६, २०८१

हस्तकला सामग्रीको प्रदर्शन

नेपालखोज २०८० असोज २६ गते ८:३४

काठमाडौं । आज काठमाडौंमा हस्तकला सामग्रीको प्रदर्शन प्रारम्भ हुँदैछ ।

स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गरी विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्यका साथ हस्तकला सामग्रीको प्रदर्शन हुनलागेको हो ।

हिमालयन इन्टरनेशनल एक्स्पोको आयोजनामा असोज २६ गते देखि २९ गतेसम्म दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८० आयोजना हुने भएको हो । यो एक्स्पो भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताएका छन् ।

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए ।

यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला तथा सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रुपमा रहनेछ ।

इन्टरनेशनल एक्स्पोमा पाँच सय जनाभन्दा बढी विदेशी क्रेताहरु अमेरिका, क्यानडा, यूरोप, चीन, भारतलगायत अन्य देशहरुबाट को आउने छन ।

प्रतिक्रिया