शनिबार, असोज २६, २०८१

वाहियात विज्ञापनकाे फन्दाबाट – अब जाग्ने बेला भएन ?

डा . अरुणा उप्रेती २०८० असोज २६ गते ९:४६

काठमाडाैं । टेलिभिजन च्यानलहरुमा दिनहुँ विभिन्न सप्लिमेन्ट, टनीक र डिब्बा बन्द ‘पौष्टीक पदार्थ’हरुका विज्ञापन प्रशारण भइरहेका हुन्छन् ।

कतिपय विज्ञापनमा कुनै सेलीब्रेटीबाट भन्न लगाइएको हुन्छ, ‘५० वर्षपछि घरको खानाले तपाईलाई पोषण पुग्दैन । तपाईले बाहिरको प्रोटिन, भिटामिन, सुक्ष्म तत्व भएको खाना खानुपर्छ ।

पौष्टिकताले भरपुर यो चिज खानुस्, तपाईको माइसपेशी र हड्डी बलियो बन्छ ।’ ‘गलत, भ्रम छर्ने’ विज्ञापनले औँल्याएको प्याकेट, सिसी या डिब्बावाल खाना खाएपछि बच्चाले फुटबलमा गोल गरेको, पढाईमा फर्स्ट ल्याएको या बृद्ध-वृद्धा तन्दुरुस्त र भएको देखाउन खोजिएको हुन्छ । त्यस्ता गलत विज्ञापन बारम्बार हेरेपछि बालकदेखि बृद्धसम्मको मनमा साँच्चै हो कि भन्ने भ्रम उत्पन्न हुन्छ र उनीहरु घरमा भएका स्वस्थकर खानाको साटो बाहिरका प्याकेटका खानेकुरा किन्न तयार हुन्छन् ।

यस्ता गलत विज्ञापनलाई एक शब्दमा भन्न सकिन्छ, ‘वाहियात ।’ रंगीचगी विज्ञापनको फन्दामा परेर आमाबाबु पनि आफ्ना सन्तानलाई घरको पोषिलो दालभात, तरकारी ख्वाउन छोडेर प्याकेटका कुरा ख्वाउन शुरु गर्छन् ।

एउटा विज्ञापन छ _ एउटा बालक थाकेर खेल्न सक्दैनन् । अग्लो नभएकाले साथीहरुले उनलाई जिस्क्याउँछन् । घरमा आमाले ‘बाहिरको बट्टाको खाना’ दिएपछि त्यो बालक फुर्तीलो र अग्लो भएको देखाइन्छ । यदि बट्टाको खाना खाएर अग्लो, फुर्तीलो र खेल तथा पढाइमा अब्बल हुने भए राजा र धनी परिवारका सन्तानहरु सँधै अग्रस्थानमा हुनुपर्ने हो ।

मानिसहरुमा भ्रम छर्ने यस्ता विज्ञापनहरु वास्तवमा वैज्ञानिक, सामाजिक, आर्थिक हिसाबले पनि गलत छन् । पोषक तत्व निकै कम भएका यस्ता खानाको बानी लागेपछि बालबालिकाहरु घरका पौष्टिक खाना खाँदैनन् । हुर्कदो उमेरका बालबालिकामा पोषक तत्वको अभाव हुन्छ र उनीहरु विरामी पर्छन् । अस्पताल जाँदाहुने खर्च, मानसिक तनाव र आफ्ना अन्य कामहरुमा त्यसको असर ।

अहिलेका केटाकेटीहरुले भोक लाग्दा आलु चिप्स, चाउचाउ या ‘एक्सट्रा इनर्जी’ आदि लेखिएका सप्लिमेन्टहरु खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु । मकै-भटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो । बाहिरको बिस्कुट या चाउचाउ केही खानै पर्दैनथ्यो ।

मकै हाम्रो भान्सामा पाइने सस्तो तर ऊर्जा दिने खाना हो । हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालिका ‘मकै पनि खाजा खाने हो र ?’ भनेर नाक खुम्च्याउँछन् । अनि त्यही मकैलाई अचेल मल्टिप्लेक्स हलहरुमा ‘पप कर्न’का रुपमा बेच्न राखिएको हुन्छ । हाम्रा बालबालिका दुई मुठी मकैलाई दुई-तीन सय रुपैयाँसम्म तिर्छन् । किनकी, पप कर्न खाँदै फिल्म हेरेको दृश्य पनि विज्ञापनहरुमै देखाइन्छ । विहानदेखि बेलुकासम्मको हाम्रो खानामा विज्ञापनले नकारात्मक असर पारिरहेको छ ।

‘सर्ट कमर्शीयल ब्रेक’मा आउने विज्ञापनहरुले हाम्रो ‘हेल्थ ब्रेक’ गरिरहेका छन् । विज्ञापनको चमक धमकमा हामी दृष्टिविहीन भएका छौं । कहाँसम्म भने बालबालिकालाई सकेसम्म चिनीले बनेका पदार्थ नखुवाउन चिकित्सकहरुको सल्लाह हुने गर्छ । तर, विज्ञापनले दूधमा पनि चकलेट हालेर खुवाउनुपर्ने अवस्थामा मानिसहरुलाई पुर्‍याइदिएको छ । त्यस्ता विज्ञापन हेर्ने बच्चाहरु पनि व दूधको साटो चकलेट हालेको दूध खान झगडा गर्छन् ।

चकलेट हालिएको दूध खाँदा सानैदेखि बच्चाको दाँत बिग्रन्छ, मोटोपन बढ्छ । एक विज्ञापनमा ‘३० वर्षको उमेर टेकेपछि महिला कमजोर हुँदै जाने र शरीरका लागि चाहिने क्याल्सियमलगायतका पोषक तत्व घरको खानेकुराले मात्र नपुग्ने’ दाबी गर्दै ‘जौ, चिनी र दूध हालेर बनाइएको यो चिज खानुहोस्, महिलाहरुको विशेष भोजन हो’ भन्ने खालको प्रचार गरिएको हुन्छ । उमेर बढ्दै जाँदा महिलाको हाडको घनत्व केही कम हुँदै जान्छ । यो सत्य हो, तर महंगो बट्टाको खानाले त्यस्तो अवस्थामा केही फाइदा भने गर्दैन ।

हाड बलियो बनाउन चाहिने क्याल्सियम र भिटामिन डी प्राकृतिक तरिकाबाट पाउने अनेक उपाय छन् । घरमै भएको दाल, कोदो, सिमी, फापर, च्युरा, दूध, दही, मकै, सीमी आदि खाने, हिँडडुल गर्ने र घाममा बस्ने बानी बसाल्नुपर्छ । विज्ञापनको भाउँतोमा लाग्न छोड्नुपर्छ । क्याल्सियम चक्की, भिटामिन र बट्टाका बस्तु खाएर हाड बलियो हुँदा हो त अमेरिका र युरोपमा कसैको पनि हाड फुसफुसे हुँदै जाने समस्या हुँदैनथ्यो होला ।

ब्रिटेनमा बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै ‘एक्सन अन जंक फुड मार्केटिङ’ नामक समूहले सरकारलाई खानाका बारेमा भ्रामक जानकारी दिने विज्ञापनमाथि रोक लगाउन या ‘प्राइम टाइम’मा ति विज्ञापन प्रशारण गर्न नदिन दबाव छ । नेपालमा भने गलत विज्ञापनकविरुद्ध बोल्ने कुनै समूह छैन । विज्ञापनदाता कम्पनी र व्यापारीक घरानाले सबैको मुखमा बुझो लगाइदिएका छन् ।

हामी विज्ञापन प्रशारण गर्ने टेलिभिजन च्यानललाई त केही भन्न सक्दैनौं, तर दर्शकहरु नै विवेक प्रयोग गरेर त्यस्ता विज्ञापनको प्रभावमा पर्नुहुँदैन । अब जाग्न बेला भएन ? अब स्कुलका शिक्षक-शिक्षिका, आमा, बुबा, बाजे बज्यैहरु नै यस्ता विज्ञापनको चंगुलबाट बच्नुपर्छ र आफ्ना बालबालिकाहरुलाई स्वस्थ र पौष्टिक घरकै खाना खान प्रेरित गर्नुपर्छ ।

प्रतिक्रिया