शनिबार, असोज २६, २०८१

दशै

सुनिल उलक २०८० असोज २७ गते १२:२२

दशै आयो भने रातो माटो वा कमेरोले घर रङ्गाइन्थ्यो । घटस्थापना भन्दा अगाडि नै घर सबै लिपी सक्नुपर्दथ्यो । अचेल त शहर बजारका घर सबै सिमेन्टले बनेका हुन्छन् । लिप्नु नै पर्दैन ।

यसैले दशै आए झै नै हुँदैन । उहिले धान भुटेर घरमै चिउरा कुटिन्थ्यो । तातो तातो चिउराको गन्धले दशै आएको आभास हुन्थ्यो । दशैको घटस्थापना देखि पूर्णेसम्म दशै बिदा हुन्थ्यो । स्कुल जान नपरे पछि दशै रमाइलो लाग्दथ्यो ।

गाउँघरमा कतै कतै अझै पनि घर लिप्ने गरिन्छ । बजारमा घर लिप्ने भन्ने नै बिर्सिसके । ब्यस्त जीवनले गर्दा अचेल दशैमा पनि टीकाको एक दुइ दिन अगाडि देखि मात्र छुट्टी हुन्छ । जसले गर्दा परिवारको भेटघाट पनि छोटो हुन्छ ।

अचेल मासु खान दशै आउनु पर्दैन, त्यसैले दशैमा खसी वा च्याङ्ग्रा काट्न पनि छोडियो । उहिले दशैमा च्याङ्ग्रा ल्याइथ्यो । घरमा दाजुभाइ मिलेर काट्ने र सफा गर्ने काम तथा काटकुटका काम हुन्थ्यो । जसले गर्दा दशैको रमाइलो नै अलग्गै हुन्थ्यो ।

अचेल रहर लागे जुन सुकै बेला नयाँ लुगा किनिन्छ । तर उहिले नयाँ लुगा लगाउन दशै नै कुर्नुपर्थ्यो । त्यसैले दशै आउने दिन औला भाँचेर गनिन्थ्यो । नयाँ कपडा किनिदिँदा संसारै नयाँ पाए झै हुन्थ्यो ।

उहिले दशैमा टीका थाप्ने आफन्त कहाँ जाँदा गोजी भरि सुका, मोहर, ढ्याकहरु हुँदा संसारकै धनी झै लाग्दथ्यो । तर अचेल ………

खैर दशै आयो । दशै कतै दशा नहोस । दशै मनाउन ऋण लिने नगरौ । आफ्नो हैसियत अनुसार मात्रै दशै मनाउँ । अरुको देखासिखी च्याङ्ग्रो घिसार्नु पर्दैन । खान मन लागे बजारमा पाइन्छ । दुइ चार किलो किनेर ल्याए भइहाल्छ ।

प्रतिक्रिया