शनिबार, असोज १९, २०८१

गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

नेपालखोज २०८० असोज २७ गते १३:२२

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताए ।

प्रधानमन्त्रीले भने ‘कोशीको समस्या समाधान गरिएको छ । अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,’ आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भने, ‘हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनाैँ ।

अब कार्कीजी मुख्यमन्त्री भएका छन् । उनी हामी सबैको साझा मुख्यमन्त्री हो ।’ हाम्रो गठबन्धन कायम रहने भन्दै उनले गठबन्धनकै उम्मेदवारका रुपमा नेता कार्कीलाई लिइएको दोहोर्याए ।

अर्को एक प्रश्नमा प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताए । उनले भने ‘सम्भावना हुन सक्छ । तर अहिले नै हुन्छ भन्न सकिँदैन । गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ ।’

अर्थतन्त्रमा समस्या परेको स्वीकार गर्दै प्रधानमन्त्रीले यसलाई समाधान गर्न सरकार लागिपरेको बताए । उनले भने, ‘अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ । यसका धेरै कारण छन् । विगतदेखिका समस्या छन् ।’

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको बताए । उनले भने, यी प्रयास पर्याप्त छैनन् । देशको अर्थतन्त्रलाई उकास्न विशेष प्रयास जरुरी छ ।’

एक पृथक प्रसङ्गमा प्रधानमन्त्रीले निर्माण व्यवसायीले सम्पन्न गरेका परियोजनाको भुक्तानी दिने निर्णय सरकारले गरिसकेको बताए । निर्माण व्यवसायीलाई गरिएको भुक्तानीले मात्र समस्याको समाधान नहुने भन्दै उनले समग्रमा ‘मेजर अप्रेसन’ गर्न छुट्टै संरचना खडा गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले भजे, ‘बजेट वक्तव्य र नीति तथा कार्यक्रममा छलफल भइरहँदा देशको आर्थिक विकासको प्रारुपलाई नै नयाँ ढङ्गले विकास गर्न जरुरी छ । यो वर्ष हामीले भ्याएनौँ । अर्को वर्ष बजेट बनाउने क्रममा नयाँ शिराबाट जान्छौँ ।’

प्रतिक्रिया